जनताको शीर उचो बनाउने काम गरिरहेको मन्त्री आलेको जिकिर
-आस्था न्यूज
चैत १८, २०७८ काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाली जनताको शीर ठाडो हुने काम आफूले गरिरहेको दाबी गरेका छन् । कुनै कुरामा र्याल चुहाउनेभन्दा पनि जनताको शीर उचो बनाउने काम आफूले गरिरहेको जिकिर उनको छ।
विराटनगरमा शुक्रबार मोरङ व्यापार संघ ट्रेड एक्स्पो-२०२२ अर्थात व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री आलेले बन्दुकको गोली र आफ्नो बोलीमा एक इन्च पनि फरक नपर्ने दाबी गरे । देवीदेवताका मठमन्दिर कौडीको भाउमा कब्जा गर्ने काम विगतको सरकारबाट भयो, उनले भने, चाहे त्यो पशुपति धर्मशाला होस्, चाहे नारायणहिटी राजदरबार नै किन नहोस् ।
कौडीको भाउमा कब्जा गरिएका सबै धार्मिक एवं सांस्कृति सम्पत्ति फिर्ता ल्याउने काम आफूबाट सुरु भएको उनले बताए । उनले भने, धार्मिक तथा सांस्कृति सम्पदाको संरक्षणमा लागेको छु । कब्जा गरिएका सबै सम्पत्ति फिर्ता गरेर छाड्छु ।
मुलुकका कम्युनिस्ट पार्टी चिराचिरा भएकाले आगामी स्थानीय तह निर्वाचनमा कांग्रेससँग गठबन्धन गरिने उनको भनाइ छ । आलेले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कम्युनिस्ट पार्टी चिराचिरा परेको आरोप पनि लगाए
।
ओलीले सबैलाई मिलाएर अघि बढ्न नसक्दा यस्तो अवस्था आएको बताउँदै त्यसको हिसाबकिताब वैशाखको स्थानीय तह निर्वाचनबाट निस्किने जिकिर गरे । नेकपादेखि एमाले विभाजनसम्मको अवधि ओलीले निम्त्याएको वितण्डा भएको उनको आरोप छ । व्यापार मेला उद्घाटनअघि विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धनबाहेकका दलको अवस्था चुनावपछि हेर्न नसकिने हुने पनि बताएका छन् ।
एमालेप्रति लक्षित गर्दै मन्त्री आलेले ठूला कुरा गर्ने दलको अवस्था निर्वाचनपछि हेरिनसक्नु हुने तर्क गरेका छन् । उनले कांग्रेससँगको गठबन्धनले स्थानीय तह निर्वाचनमा जान उत्साह थपेको पनि बताए ।