प्रधानमन्त्री इमरान खानले पाकिस्तानको संसद् विघटन गरे

चैत्र २०,२०७८

-आस्था न्यूज

चैत २०, २०७८ काठमाडौं ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् । उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् ।
 
पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा भनिन्छ भने माथिल्लोलाई सिनेट भनिन्छ । आफूविरुद्धको अविश्वासको प्रस्ताव आएसँगै खानले तल्लो सदन ३४२ सदस्यीय राष्ट्रिय सभा विघटन गरेर चुनावमा जाने घोषणा गरेका हुन् । 
 
उनले भने, ‘देशका जनताले चुनावको तयारी गर्नुपर्छ । यसको भाग्यको निर्णय गर्ने अधिकार अरु कसैलाई छैन, यहाँका जनताले निर्णय गर्नेछन् ।’
 
इमरानले भने, ‘आज उप–सभामुखले जो अविश्वास प्रस्ताव खारेज गरेका छन् । यसका लागि म सम्पूर्ण समुदायलाई बधाई दिन्छु । हिजोदेखि सबै तनावमा थिए । मलाई सोधिरहेका थिए तर मैले उनीहरुलाई नडराउन भनिरहेको थिएँ ।’
 
‘सभामुखले आज आफ्नो संवैधानिक शक्ति प्रयोग गरी लिएको निर्णयपछि मैले व्यवस्थापिका–संसद् विघटन गर्ने निर्णय राष्ट्रपतिलाई बुझाएको छु ।’