अर्थतन्त्र संकटमा परेको भन्दै विलासिताका वस्तु आयात रोक्न राष्ट्र बैंकको निर्देशन

चैत्र २१,२०७८

-आस्था न्यूज

चैत २१, २०७८ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने भएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ ।
 
राष्ट्र बैंकले बैंकका सीईओहरुलाई सकेसम्म एलसी खोल्न बन्द गर्न भनेको छ । सोमबार राष्ट्र बैंकमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात ठप्प पार्नुपर्ने रणानीति राष्ट्र बैंकले अघि सारेको एक बैंकका सीईओले बताए ।
 
‘छलफलमा आयात कसरी रोक्न सकिन्छ भन्ने कुरा भएको थियो,’ ती सीईओले भने, ‘सकेसम्म शतप्रतिशत नगद मार्जिन नलिई कुनै पनि वस्तु आयातका लागि एलसी नखोल्न र खोल्नै पर्दा पनि अत्यावश्यका लागि मात्रै एलसी खोल्न भन्नुभएको छ ।’
 
छलफलमा नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ, बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल लगायत थिए भने बैंकहरुका तर्फबाट बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायसहित अधिकांश बैंकका सीईओहरु उपस्थित थिए ।
 
केही बैंकका भने डेपुटी सीईओहरु समेत छलफलमा सहभागी थिए ।