Trending :
 

सरकार आफैँले रेल-वे निर्माण गर्न सक्दैनः प्रधानमन्त्री देउवा

व्यापार घाटालाई कम गर्न स्वदेशी सीपको प्रवर्द्धनमा जोड दिन आग्रह:

चैत्र २२,२०७८

-आस्था न्यूज

चैत २२, २०७८ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपाल सरकार आफैँले रेल–वे निर्माण गरी रेल सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् । उनले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले त्यसमा लगानी गर्न सक्ने अवस्था नरहेको बताएका हुन् ।
 
विश्व बैंकको सहयोगमा निर्माण चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेल(वेमा लगानी गर्न सक्ने बताए ।
 
‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ । तर त्यो धेरै खर्चिलो हुन्छ । अहिले हाम्रो व्यापार घाटा बढेको बढ्यै छ, यस्तोमा हामी आफैँले रेल(वे निर्माण गर्न सक्ने अवस्था छैन । फेरि त्यो एकदमै महँगो हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘त्यसैले यसमा ध्यान पुर्‍याउनुपर्ने अवस्था छ । नत्र कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेल-वे बनाउन सकिन्छ । त्यो भयो भनेमात्रै फाइदाजनक हुनसक्छ ।’
 
प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । उनले चोभार सुख्खा बन्दरगाह निर्माणले मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गर्दै अन्य ठाउँहरूमा समेत सुख्खा बन्दरगाह निर्माण गर्नमा जोड दिने बताए ।