श्रीलंका राष्ट्रपतिको राजिनामा माग गर्दै प्रदर्शन, आर्थिक संकटले दैनिक जीवन कष्टकर बन्दै

चैत्र २३,२०७८

-आस्था न्यूज

चैत २३, २०७८ काठमाडौं।
 
श्रीलंकाको सत्तारूढ दलका सहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि राष्ट्रपति गोटाभाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ । गोटाभायको दल श्रीलंका पोडुजना पेरामुना ९एसएलपीपी० को नेतृत्वमा रहेका दलहरूले अब आफूहरूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् । सन् २०२० को चुनावमा सत्तारूढ गठबन्धन १४५ सिटमा विजयी भएको थियो । संसद्मा २२५ सदस्य छन् । 
 
 
श्रीलंकाले सन् १९४८ मा स्वतन्त्र भएयताकै गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । जसका कारण राष्ट्रपतिको राजीनामा माग गर्दै विरोध प्रदर्शन चर्केपछि साना दलहरूले उनको साथ छाडेका हुन् । सांसदहरूले समर्थन फिर्ता लिए पनि राष्ट्रपति गोटाभायलाई भने तत्काल असर पर्ने सम्भावना देखिँदैन ।
 
समर्थन फिर्ता लिएका सांसदहरूले सरकार गठनका लागि प्रतिपक्षी दललाई भने समर्थन गरिसकेका छैनन् । तर संसद्को जोडरघटाउका आधारमा प्रधानमन्त्रीको पद भने धरापमा परिसकेको जनाइएको छ ।
 
खासगरी, श्रीलंका फ्रिडम पार्टी ९एसएलएफपी० र सरकार पक्षकै केही सांसद्ले स्वतन्त्र बस्ने धम्की दिएपछि सरकारले बहुमत गुमाएको हो । सरकारले आफ्नो पक्षमा बहुमत प्रमाणित गर्न नसकेको खण्डमा नयाँ प्रधानमन्त्रीको टुंगो लगाउन सभामुखसमक्ष प्रस्ताव राखिने जनाइएको छ ।
 
‘जनताले चाहेको कुरा भनेको राष्ट्रपति र उनको सरकारले राजीनामा देऊन भन्ने हो,’ प्रमुख प्रतिपक्षी दल समागी जन बलवेगयाका नेता सजिथ प्रेमादासाले भनेका छन् । इन्धन, औषधि, खाद्यान्न लगायतको चरम अभाव भएपछि दैनिक जीवन निकै कष्टकर बन्दै गएको छ ।
 
संकट गहिरिएसँगै राजापाक्षको मन्त्रिमण्डलका सबै सदस्यहरूले सोमबार राजीनामा दिएका थिए । लगत्तै उनले ४ मन्त्री नियुक्त गरेका थिए । तीमध्ये अर्थमन्त्रीमा नियुक्त अर्थमन्त्री अली सब्रीले २४ घण्टा नबित्दै राजीनामा दिइसकेका छन् ।
 
यसअघि न्यायमन्त्री रहेका सब्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको थियो । राष्ट्रपतिका नजिक मानिएका सब्रीले आफ्नो सांसद पद पनि संकट व्यवस्थापन गर्न सक्ने व्यक्तिलाई दिन तयार रहेको बताएका छन् ।
 
राजापाक्ष र उनका दाइ प्रधानमन्त्री महिन्दा राजापाक्षले भने राजीनामा दिन अस्वीकार गर्दै आएका बीबीसीले उल्लेख गरेको छ । पार्टीका वरिष्ठ सदस्यहरूसँगको बैठकमा गोटाभायले आफूले पदबाट राजीनामा नदिने तर संसद्मा बहुमत पुर्‍याउने जुनसुकै पार्टीलाई सरकार हस्तान्तरण गर्न तयार रहेको बताएका हुन् । त्यस्तै, सत्तारूढ दलका सांसदहरूले वर्तमान आर्थिक संकट समाधानका लागि अन्तरिम सरकार गठनका लागि प्रस्ताव गरेका छन् । तर विपक्षी दलहरूले राष्ट्रपतिको राजीनामाको विकल्प नभएको भन्दै दुवै प्रस्ताव अस्वीकार गरिदिएका रोयटर्सले जनाएको छ ।