हरेक स्थानिय तहमा प्रमुख र उपप्रमुख महिलालाई बनाउने प्रचण्डको चाहना
-आस्था न्यूज
चैत २३, २०७८ काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३० वैशाखमा हुने निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख महिलालाई बनाउने आफ्नो चाहना भएको बताएका छन् ।
बुधबार चितवनमा सुकुम्बासीलाई लालपूर्जा वितरण गर्दै उनले महिलालाई जिम्मेवारी दिएमा बेइमानी, जालझेल र षड्यन्त्र कम हुने बताए ।
‘महिलालाई धेरै ठाउँमा पालिका प्रमुख र मेयर बनाउने विचार छ, बेइमानी जालझेल षड्यन्त्र धेरै नै कम हुँदो रहेछ । जिम्मेवारी बेग्लै खालको हुन्छ महिलाको’ उनले भने ।
प्रचण्डले धेरै वर्षदेखि पुरुषले शासन गर्दै आएको भन्दै केही वर्ष महिलालाई शासन गर्न दिनुपर्ने पनि बताए । ‘एकचोटी महिलालाई धेरै नै जिम्मेवारी दिएर हेरौं भन्ने छ । केही बिग्रदैन, यत्रो वर्षदेखि पुरुषले राज गरेर आइयाछ । केही वर्ष महिला राज हेरिहेरौं न त । हुन सक्छ नि त, किन सक्दैन?’ उनले प्रश्न गरे ।
आफूले अहिलेको मन्त्रिपरिषदमा पार्टीको तर्फबाट महिलालाई धेरै जिम्मेवारी दिएको र उनीहरुले राम्रो काम गरेको पनि प्रचण्डले बताए ।