नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना हुन सक्दैनः अर्थमन्त्री

चैत्र २५,२०७८

-आस्था न्यूज

चैत २५, २०७८ काठमाडौं ।
अर्थमन्त्री जनार्दन शर्माले नेपाल र श्रीलंकाको आर्थिक अवस्था तुलना हुन नसक्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कतिपयलाई नेपाललाई श्रीलंका बनाउने रहर समेत रहेको जिकिर गरे ।
 
उनले कतिपयलाई श्रीलंका बनाउने रहर भएपनि तिनको सपना पूरा नहुँने बताए। तुलना नहुने कुरामा तुलना गर्दै आज जनतालाई आतंकित पार्ने काम एक थरीहरुले गरिरहेका छन् ।
 
उनले विलासिताका सामानमा सरकारले धेरै छुट दिएकाले आयात बढ्दा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको बताए । मुलुकमा नै उत्पादनका अथाह सम्भावना भए पनि उत्पादन बढाउने नीति बन्न नसकेको उनको भनाइ छ । उनले भने ‘अर्थतन्त्रमा समस्या छन्, हामीले पनि भनिरहेका छौं । 
 
श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्नेहरुलाई म अपिल गर्न चाहन्छु कि यस्तो प्रचारको अन्त्य गरौं, हाम्रो अर्थतन्त्रलाई सुधार गर्ने कुराहरु केके हुन् त्यसमा बहस गरौं ।’
 
शर्माले मुलुकको अर्थतन्त्रमा रुस र युक्रेन बीचको युद्धका कारण थप समस्या आएको बताए । उनले दुई देशबीचको युद्ध स्रोत केन्द्रित भएकाले पनि विश्व अर्थतन्त्रमा प्रभाव परेको उल्लेख गरे ।
 
अत्याधिक पेट्रोलियम पदार्थको आयात, अनाश्यक विलासिताका वस्तु आयात, चाहिने भन्दा बढी गाडी आयात भएकाले अर्थतन्त्रमा समस्या आएको उनको भनाइ छ ।