देशको अर्थतन्त्र बुझेका गभर्नरलाई निलम्बन गरिनु दुःखद् भयोः ओली
-आस्था न्यूज
चैत २६, २०७८ काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र बुझेका गभर्नरलाई सरकारले हटाएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको अर्थतन्त्र जोगाउन प्रयासरत गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको बताएका हुन् ।
अर्थमन्त्री जनार्दन शर्माप्रति इंगित गर्दै उनले धान खाने मुसो, चोट पाउने भ्यागुतो भएको बताए । उनले भने, थुतुनाभरी रौँ भएको मुसाले धान खायो, एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गरियो ।
त्यस्तै गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इशारामा समिति गठन गरिएको ओलीले आरोप लगाए । बिहीबारको मन्त्रिपरिषद् बैठकले गभर्नरमाथि छानबिन गर्न सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा परेका हुन् ।
पूर्वन्यायाधीश भण्डारीलाई माओवादीनिकटको संज्ञा दिँदै ओलीले भने, देशको अर्थतन्त्र जोगाउन खोज्ने अर्थतन्त्र बुझेका मान्छेलाई निलम्बन गरियो । माओवादीनिकट भनेर चिनिएका पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाइयो ।
त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका घाइतेहरूलाई अनादर गर्दै आफ्नै भाइ नारायण दाहाललाई राष्ट्रिय सभा सदस्य बनाएको समेत ओलीले आरोप लगाए ।