अर्थतन्त्र गम्भीर मोडमा पुगेका बेला मन्त्रीहरू कमाउ धन्दामा लागेको आरोप

चैत्र २७,२०७८

-आस्था न्यूज

चैत २७, २०७८ काठमाडौं ।
 
पूर्वअर्थमन्त्री युवराज खतिवडाले अहिले देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको भए पनि सरकारका मन्त्रीहरू कमाउ धन्दामा लागेको बताएका छन्।
 
अर्थतन्त्रको अवस्थाबारे एमालेले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले अर्थतन्त्र गम्भीर मोडमा पुग्दा पनि सरकार सञ्चो मानेर बसिरहेको बताए।
 
‘सरकारका मन्त्रीहरू कमाउ धन्दामा छन्। खुलमखुला चुनाव खर्च उठाउन लागेका छन्। अर्थतन्त्र गम्भीर मोडमा पुग्दा पनि सरकार सञ्चो मानेर बसिरहेको छ,’ खतिवडाले भने,‘अर्थतन्त्र कमजोर बनेपछि राष्ट्र बैंक सक्रिय बन्न खोज्दा गभर्नरलाई कारबाही गरियो। महंगी अस्वाभाविक बढेको छ, आम मानिसमा हामी श्रीलंका हुने त होइन भन्ने परेको छ।’
 
अहिलेको सरकारले मौद्रिक नीति पनि नल्याउँदा भुक्तानी असन्तुलन बढेको खतिवडाले बताए।  
 
‘बैंकिङ प्रणालीमा लगानीको वातावरण छैन। पैसा हराउने खेलमा सरकार लागेका कारण बैंकमा पैसा आएन। गठबन्धन टिकाउन संघदेखि प्रदेशसम्म अनेक संरचना खडा गरिएको छ। विकास मा खर्च गर्नुको साटो बजेटलाई गाडी घोडामा खर्च गरिएको उनको भनाई थियो ।