बैंकहरुले निजी गाडी, मोबाइल, रक्सी, चुरोट आयातका सामाग्रीमा प्रतितपत्र नखोल्ने

चैत्र २७,२०७८

-आस्था न्यूज

चैत २७, २०७८ काठमाडौं ।
वाणिज्य बैंकहरुले निजी गाडी, ड्राई फूड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पर्फ्युम, मोबाइल लगायत सामाग्री आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने भएका छन् । राष्ट्र बैंकले अत्यावश्यकबाहेक सामग्रीका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको एक सातापछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले आइतबार उक्त निर्णय गरेको हो ।
 
‘संघको अर्को बैठकले निर्णय नगर्दासम्मका लागि निजी गाडी, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामाग्री, पर्फ्युम, मोबाइललगायत सामाग्री आयातका लागि एलसी नखोल्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।
 
त्यसो त बैंकहरुले राष्ट्र बैंकको निर्देशनपछि गत साता नै गाडी लगायत कम आवश्यक र विलासिता वस्तुका लागि एलसी नखोल्न आफ्ना शाखाहरुलाई निर्देशन दिइसकेका छन् । तर उक्त विषयमा बैंकर्स संघले औपचारिक निर्णय गरिसकेको थिएन । सोही कारण आइतबार संघले औपचारिक रुपमै अर्को सातासम्मका लागि उल्लिखित वस्तुका लागि एलसी नखोल्ने निर्णय भएको स्रोतले बताएको छ । यो निर्णय पछि बैंकहरुले उल्लिखित वस्तु आयातका लागि एलसी खोल्ने छैनन् ।
 
यसअघि राष्ट्र बैंकले दुई पटक गरी ६७ उपसमूह अन्तर्गत पर्ने करिब साढे १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १ सय प्रतिशतसम्म नगद मौज्दात (क्यास मार्जिन) राख्नुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्थाले गत फागुनमा आयात केही घटे पनि चैतमा पुन बढेको संकेत भन्सारका तथ्यांकले देखाएका छन् ।
 
यसकारण गत साता राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतलाई डाकेर गाडी लगायत अनावश्यक वस्तु आयातका लागि एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो ।