कर्णाली सरकारले जलविद्युत् आयोजनामा १७ करोड लगानी गर्ने निर्णय

चैत्र २८,२०७८

-आस्था न्यूज

चैत २८, २०७८ काठमाडौं ।
कर्णाली प्रदेश सरकारले प्रदेशका दुई जलविद्युत् आयोजनामा १७ करोड रुपैयाँको सेयर लगानी गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डोल्पा र दैलेखमा रहेका दुई जलविद्युत् आयोजनामा सेयर लगानी गर्ने निर्णय गरेको हो । 
 
प्रदेश सरकारले डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनामा ११ करोड ७१ लाख ५० हजार र दैलेखको अपर पराजुली जलविद्युत् आयोजनामा पाँच करोड रुपैयाँ सेयर लगानी गर्ने भएको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले जानकारी दिए ।
 
उनले जारी गरेको प्रेस नोट अनुसार जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम सेयर लगानी गर्ने निर्णय भएको हो । जगदुल्ला हाइड्रोपावर कम्पनीको उक्त सेयर किन्नका लागि बजेट व्यवस्थापन गर्ने जिम्मा जलस्रोत तथा उर्जा विकास मन्त्रालयलाई दिइएको प्रवक्ता विष्टले जानकारी दिए । जगदुल्ला जलविद्युत् आयोजनाको क्षमता १ सय ६ मेगावाट रहेको छ ।
 
यस्तै, दैलेखको २.१५ मेगावाटको जलविद्युत् आयोजनामा प्रदेश सरकारले ५ करोड लगानी सुनिश्चित गर्ने निर्णय बैठकले गरेको प्रवक्ता विष्टले जनाए । उनका अनुसार बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चानल र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कर्णाली प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गरेको छ । बैठकले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति, २०७८ पनि स्वीकृत गरेको छ ।