मेलम्चीको पानी पुनः सुरुङमा पठाइयो, काठमाडौंमा आइपुग्न अझै दुई साता लाग्नसक्ने

चैत्र २९,२०७८

-आस्था न्यूज

चैत २९, २०७८ काठमाडौं ।
मेलम्ची नदीको पानी पुनः सुरुङमा पठाइएको छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले  मंगलबार  १ नं डाइभर्सन गेटबाट पानी पठाएर ३८ नं को गेट खोलेर उद्घाटन गरे।  गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । 
 
सरकारले यही चैत मसान्तभित्र पानी काठमाडौं पुर्‍याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौंमा पानी उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ ।  गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । वैशाखमा दोस्रो चरणमा गरेर राजधानीमा १७ करोड लिटर पानी वितरण थालिएको थियो । 
 
परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए।