चालु आवमा महिनामा ६ खर्ब ३१ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

चैत्र २९,२०७८

-आस्था न्यूज

चैत २९, २०७८ काठमाडौं ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 
 
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ साउनदेखि फागुनसम्मको अवधिमा उक्त रेमिट्यान्स नेपाल भित्रिएको हो । 
 
अघिल्लो वर्ष सोही अवधिको तुलनामा नेपाल भित्रने रेमिट्यान्समा १.७ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष २०७७ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ८.७ प्रतिशतले बढेको थियो । 
 
चालु आर्थिक वर्षमा अमेरिकी डलरमा रेमिट्यान्स ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स ५ प्रतिशतले बढेको थियो । 
 
यसवर्षको फागुनसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख २७ हजार ९ सय पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८२.९ प्रतिशतले घटेको थियो । 
 
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या फागुन महिनासम्म २४०.९ प्रतिशतले वृद्धि भई १ लाख ७८ हजार २६२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७०.२ प्रतिशतले घटेको थियो । 
 
समीक्षा अवधिमा खुद ट्रान्सफर २.० प्रतिशतले कमी आई रु.७०४ अर्ब ३३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ७.२ प्रतिशतले बढेको थियो ।