राष्ट्रपतिबाट ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप मानपदवी एवम् विभूषण प्रदान

बैशाख ०१,२०७९

-आस्था न्यूज

वैशाख १, २०७९ काठमाडौं ।
 
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप विभिन्न मानपदवी एवम् विभूषण प्रदान गर्नुभएको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित सुशोभन समारोहमा विभूषण एव्म मानपदवी प्रदान गर्ने क्रम जारी छ । 
 
यस वर्ष नेपाल रत्न, राष्ट्र गौरव, महाउज्ज्वल राष्ट्रदीप, सुप्रसिद्ध प्रबल जनसेवाश्री, उज्ज्वल कीर्तिमय राष्ट्रदीप, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री र जनसेवाश्री गरी ११ वटा मानव पदवी वितरण गरिने कार्यक्रम छ ।
 
सरकारले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप संविधान दिवस-२०७८ ९राष्ट्रिय दिवस० का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गरिएका थिए । 
 
समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद् पूर्वअध्यक्ष सुवर्णशमशेर राणालाई मरणोपरान्त राष्ट्र गौरव प्रदान गरिएको छ ।पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरिएको छ । तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा चोलेन्द्रशमशेर जबरा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप विभूषित गरिएको छ ।
 
सुप्रसिद्ध प्रबल जनसेवाश्री राजनीतिज्ञ प्रदीप नेपाल, मरणोपरान्त पोष्टबहादुर बोगटी र मार्शलजुलुम शाक्यलाई र उज्ज्वल कीर्तिमय राष्ट्रदीप विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । प्रसिद्ध प्रबल जनसेवाश्री ३९, सुकीर्तिमय राष्ट्रदीप २८, सुप्रबल जनसेवाश्री १५८, कीर्तिमय राष्ट्रदीप ७, प्रबल जनसेवाश्री ३१३ र जनसेवाश्री १८५ जनालाई प्रदान गरिँदैछ ।
 
त्यस्तै, गृह मन्त्रालयको विभूषण शाखा प्रमुख रमा आचार्यका अनुसार, विभिन्न आठवटा अलङ्कार १०७ जना र छवटा पदक ३७ जना सुरक्षाकर्मीलाई प्रदान गरिएको छ । सो अलङ्कार र पदकहरू गृह मन्त्रालयबाट नै वितरण गर्ने कार्यक्रम रहेको छ ।