राष्ट्र बैंकले कोरोना प्रभावितका लागि दिईएको चार गुणासम्मको पुनर्कर्जा सुविधा कटौती गर्ने

बैशाख ०७,२०७९

-आस्था न्युज

७ वैशाख, काठमाडौँ  । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायहरूलाई राहत दिने उद्देश्यले कोषमा भएको भन्दा चार गुणासम्म पुनर्कर्जा दिने सुविधा कटौती गर्ने भएको छ। राष्ट्र बैंकमा रहने यस्तो कोषको रकमको चार गुणासम्म पुनर्कर्जा सुविधा बैंकहरूमार्फत् व्यवसायीहरूलाई दिँदै आएको थियो । हाल पुनर्कर्जा कोषमा करिब ५१ अर्ब रूपैयाँ  रहेको छ ।

 

 

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रका अनुसार 'कोषमा भएको रकम बराबरसम्म मात्रै यस्तो कर्जा सुविधा दिने सोचमा छौं,' 'अस्वस्थ हुने अवस्थामा रहेको अर्थतन्त्र चलाउन पुनर्कर्जा रकममा गुणात्मक बृद्धि गरिएको थियो,' मिश्रले भने, 'तर औषधि पनि धेरै भएमा हानी हुन्छ, त्यसैले यसलाई कटौती गर्ने छौं।'

 । यस अघि केही समयअघि पनि राष्ट्र बैंकले यस्तो पुनर्कर्जा सुविधा खुम्च्याएको थियो।

 

यो आर्थिक वर्ष फागुन अन्त्यसम्म भने राष्ट्र बैंकले एक खर्ब ६ अर्ब पुनर्कर्जा स्वीकृत गरेको छ। हाल यस्तो कर्जा अन्तर्गत प्रवाह भएको एक खर्ब २० अर्ब रूपैयाँ लगानीमै रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

कोभिड प्रभावमा परेको अर्थतन्त्र चलायमान गराउने उद्देश्यले नोट छापेरै भए पनि पुनर्कर्जा सुविधा दिइएको थियो। यसले बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी समेत उल्लेख्य दरमा बढ्न गएको छ। चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फ जाने कर्जाको वार्षिक बृद्धिदर १९ प्रतिशतमा राख्ने राष्ट्र बैंकको लक्ष्य भए पनि गत फागुनसम्ममा यो क्षेत्रमा जाने कर्जाको बृद्धिदर २२.२ प्रतिशत रहेको छ ।

 

राष्ट्र बैंकले केही समयअघि मात्रै पुनर्कर्जाको ब्याजदर पनि बृद्धि गरेको छ। यसअघि लघु, घरेलु तथा साना उद्यममा जाने कर्जा र साधारण पुनर्कर्जामा बैंकहरूले ग्राहकसँग ५ प्रतिशतसम्म ब्याजदरलाई बढाएर ७ प्रतिशत पुर्‍याइएको छ। राष्ट्र बैंकले भने बैंकहरूसँग यस्तो रकममा ५ प्रतिशतसम्म ब्याज लिने गर्दछ ।

 

यस अघि कोभिडअघि भने राष्ट्र बैंकले कोषमा भएको रकमसम्म मात्रै पुनर्कर्जाका रूपमा बैंकहरूलाई लगानी गर्न दिँदै आएको थियो। चरम कर्जायोग्य पुँजी अभावबाट गुज्रिरहेका बैंकहरूलाई पुनर्कर्जाबाट प्राप्त रकमले मद्धत गर्दै आएको  छ ।