नेपाली कांग्रेसको स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक

बैशाख ११,२०७९

-आस्था न्युज

११ वैशाख, काठमाडौं । ११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९ का लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा  कम्युनिष्ट पार्टीहरुको चर्को आलोचना गरिएको  छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ओली नेतृत्वको सरकारले संसद विघटन गर्नुलाई कांग्रेसले लोकतान्त्रिक व्यवस्थामाथि ‘सुनियोजित आक्रमण’ समेत  भनेको छ । कांग्रेसले चुनावी घोषणपत्रमार्फत कम्युनिष्टले बितेको पाँच वर्षलाई खेर फालेको र जनताको विश्वासमाथि घात गरेको भन्ने सन्देश दिन खोजेको छ ।

 

घोषणापत्रको १४ पृष्ठ खर्चिएर कम्युनिष्ट पार्टीको आलोचना गरिएको छ । कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘जनउत्तेजनाको व्यापारी’को संज्ञा दिएको छ । अभूतपूर्व राजनीतिक परिवर्तनपछि जनताले गरेको विश्वासलाई धोका नेकपा एमालेका दिएको भन्दै कम्युनिष्टहरुले ‘सुनौलो अवसर’ खेर फालेको कांग्रसले  निष्कर्ष निकालेको छ ।

 

 घोषणापत्रमा भनिएको छ  ‘नेपाल कम्युनिष्ट पार्टीले सत्ता र शक्तिको केन्द्रीकरण गर्ने केपी शर्मा ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षाका खातिर आफ्नो दलको सारा शासकीय कौशल लोकतन्त्र र समग्र प्रणालीलाई नै तहसनहस बनाउनेतिर लगायो,’ । ‘जनउत्तेजनाको व्यापार गरी राजनीति गर्ने शक्तिहरूको सबैभन्दा ठूलो हतियार अतिवादी एजेण्डा र भ्रामक ‘अद्वितीय विकास’ हो । प्रधानमन्त्री ओली नेतृत्वको सरकार त्यसको अपवाद नरहनु स्वभाविक थियो ।’ ‘नेपालको समृद्धि नै हिमालमा चल्ने चुच्चे रेल र खोलानालामा तैरिने भीमकाय पानीजहाजमा चढेर आउँछ भन्ने उहाँको भ्रान्तिपूर्ण विचारको झिनो आलोचनालाई समेत ‘विकास विरोधी’को संज्ञा दिइयो,’

 

 

कम्युनिष्टकै कारण नागरिकको राजनीतिक स्थिरताको आशामाथि धोका भएको र मुलुक झन् भयंकर अस्थिरताको चक्रव्यूहमा फस्ने जोखिम समेत बढाएको कांग्रेसको निष्कर्ष छ ।

 

एमाले अध्यक्ष ओलीले विकासको नाममा ‘प्रोपोगाण्डा’ गरेको कांग्रेसको निष्कर्ष छ । घोषणापत्रमा भनिएको छ ‘७ दशकको अकल्पनीय संघर्षपछि लेखिएको जनताको संविधान, लोकतन्त्र, अर्थतन्त्र, कूटनीति, सामाजिक सद्भाव र सहिष्णुतालगायत यो सम्पूर्ण व्यवस्थामाथि नै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको सरकारले गरेको सुनियोजित आक्रमणको फेहरिस्त निकै लामो छ ।’ ओलीले ‘गिनिज बुकको आधा त हामीले गरेका कामले भरिन्छ’ भनेर भाषण गर्ने तर क्षणिक राजनीतिक लाभका लागि स्रोत–साधनको कुनै तयारी बिना नै शिलान्यास गरेर जनताको आँखामा छारो हाल्ने काम मात्रै गरेको कांग्रेसको आरोप लगाएको छ ।

 

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि आक्रमणमा ओली नेतृत्वको सरकारले गरेका कामहरुलाई  घोषणापत्रमा उल्लेख छ, ‘नेकपाको सरकार गठन भएको घडीदेखि नै संविधान, लोकतान्त्रिक प्रणाली, जनताका नैसर्गिक अधिकार, संवैधानिक संस्था र राज्यको चौथो अंग सञ्चार जगतमाथि नियोजित रुपमा संगीन आक्रमण गर्दै आफूले पाएको सुनौलो अवसरको अधिकांश समय र ऊर्जा अधिनायकवादी तथा सर्वसत्तावादी शासन स्थापना गर्नमै खर्च गरिएको थियो,’ ।

 

ओली सरकारको नीति र कार्यशैली संघीय प्रणालीभन्दा ठीक विपरीत देखिएको कांग्रेसको दाबी छ । ‘करिव ४२ महिनाको अवधिसम्म पनि संघीय प्रणालीको भावना अनुरूप राज्य सञ्चालन नगरेको मात्रै होइन, प्रदेशको नाम र राजधानीका बारेमा समेत प्रदेश सभालाई हुकुम प्रमांगी शैलीमा आदेश जारी गरेपछि नेकपाको संघीयताप्रतिको वास्तविक अनुहार पर्दाफास भइसकेको थियो,’ घोषणापत्रमा भनिएको छ ।