वरियताक्रम मिचेर नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्ति

बैशाख १८,२०७९

-आस्था न्यूज

वैशाख १८, २०७८ काठमाडौं । 
 
सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।
 
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको जनाइएको छ । गृहमन्त्री बालकृष्ण खाँण चाहिँ वरियताक्रममा अगाडि रहेका विश्वराज पोखरेललाई नै आईजीपी नियुक्त गर्ने पक्षमा थिए । तर अन्तिममा बालुवाटारकै अडानमा सिंह आईजीपीमा नियुक्त भएको स्रोतले बतायो ।
 
केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु रुष्ट थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।
 
आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएका थिए ।
 
तर प्रधानमन्त्री देउवाले आईजीपी नियुक्तिबारे छुट्टै परामर्श गरेका थिए । विवादका कारण ११ बजे बस्ने भनेको मन्त्रपरिषद् बैठक दिउँसो १ बजे मात्रै सुरु भएको थियो ।
 
सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत थिए । सिंहसँगै विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक पनि प्रहरी महानिरीक्षक बन्ने दौडमा थिए । तर सरकारले तेस्रो वरियतामा रहेका सिंहलाई आईजीपी नियुक्त गरेको हो ।