माओवादीको उद्गमस्थल रोल्पामा माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लवको गठबन्धन

बैशाख १८,२०७९

-आस्था न्यूज

वैशाख १८, २०७८ काठमाडौं । 
सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले थुप्रै पालिकाहरुमा नेकपा एमालेविरुद्ध गठबन्धन गरेका छन् । तर रोल्पामा ठीक उल्टो भएको छ ।
 
माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले मात्र होइन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले समेत गठबन्धन गरेको छ ।
 
सुनछहरी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन छ भने थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांगेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
 
सुनछहरी गाउँपालिकामा विप्लव समूहका पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका छन् । विप्लव नेतृत्वको नेकपाका पूर्व विशेष जिल्ला सेक्रेटरी पुष्टमनलाई एमाले र कांग्रेसले समर्थन गरेका छन् ।
 
वडा तहसम्म गठबन्धन गरेका उनीहरुको तर्फबाट उपाध्यक्षमा कांग्रेसका कोमबहादुर वुढामगरले उम्मेदवारी दिएका छन् ।
 
माओवादी केन्द्रकातर्फवाट गाउँपालिका अध्यक्षका उम्मेदवार धनवहादुर पुन र उपाध्यक्षमा ननकला घर्तीमगर उम्मेदवार छन् ।
 
२०७४ मा यहाँ माओवादी केन्द्रले जितेको थियो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका आशबहादुर पुनमगर २ हजार ५६१ मतका साथ विजयी भएका थिए ।
 
कांग्रेसका दुर्गे वुढामगरले १ हजार १३६ र नेकपा एमालेका अध्यक्षका उम्मेदवार रिमु खत्रीले ९४७ मत प्राप्त गरेका थिए । तर यो पटक कांग्रेस, एमाले र विप्लव समूह एक ठाउँमा उभिएकाले माओवादी केन्द्रले २०७४ को विरासत जोगाउन सजिलो छैन ।
 
थवाङ गाउँपालिकामा पनि कांग्रेस र एमालेले विप्लव समूहकै उम्मेदवारलाई समर्थन गरेका छन् ।