बाकेमा जन्मदिन मनाउन बोलाई सामुहिक बलात्कार

जेठ २३,२०७९

-आस्था न्युज

२३ जेठ, बाँके । बाँकेमा जन्मदिन मनाउन बोलाएर एक किशोरीमाथि सामूहिक बलात्कार गरिएको  छ । प्रहरीले बलात्कारमा संलग्नको आरोपमा ५ जना र थप  दुई जना लाई मतियार बनेको भन्दै  सात जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका– ८ का हेमराज थारु, विक्रान्त थारु, निराजन थारु, प्रविण थारु र राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु रहेका छन् ।

 

  जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेका अनुसार राप्तीसोनारी गाउँपालिकाकी १६ वर्षकी किशोरीलाई  फेसबुकबाट चिनजान र प्रेम सम्बन्धमा रहेका युवक हेमराज थारुले जन्मदिन मनाउन बोलाई  बाँके र बर्दिया जिल्लाको सिमानामा पर्ने मानखोलाको जंगलमा लागि  सामूहिक बलात्कार गरेका हुन्  ।

 

घटना बिवरण ?

 

प्रहरीका अनुसार नेपालगञ्जबाट शनिबार ४ बजेतिर बस चढेर मानखोला पुगेकी किशोरीसँग पहिले हेमराज र उनका साथी बिक्रान्तले भेटेका थिए । त्यसपछि बिक्रान्तको मोटरसाइकल चढेर तीनै जना बढैया ताल पुगे । त्यहाँ घुमफिर गरे । त्यसपछि उनीहरु मानखोलाको फूलबारीमा बेलुकी छ बजेदेखि राति १२ बजेसम्म जन्मदिनको भोज गरे । जन्मदिन मनाउने कार्यक्रममा निराजन थारु, प्रविण थारु र राजकुमार थारु पनि सहभागी थिए । उनीहरुले भोजमा घरेलु मदिरा पनि सेवन गरेका थिए ।

 

‘उनीहरुले किशोरीलाई पनि मदिरा पिलाए,’ डीएसपी न्यौपानेले भने, ‘त्यसपछि उनीहरुले पालैपालो किशोरीलाई बलात्कार गरेको बयान दिएका छन् ।’

 

बलात्कारपछि किशोरी बेहोस भएकी थिइन् । उनीहरुले किशोरीलाई मोटरसाइकलमा राखेर बैजनाथ वडा नं. ८ पिपरीमा बिक्रान्त थारुले बंगुर पाल्दै आएको टिनको टहरोमा पु¥याएको बयान दिएका डीएसपी न्यौपानले बताए । गोठमा पनि दुई जनाले बलात्कार गरेको किशोरीले प्रहरीसँग बताएकी छन् ।

 

गोठमा अर्धचेत अवस्थामा रहेकी किशोरीलाई घर पुर्‍याइदिने भन्दै बिक्रान्तको भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा राखेर नेपालगञ्जतर्फ लगेका थिए ।

 

नेपालगञ्ज गुलरिया सडकको उढरापुरमा प्रहरी चेकिङ थियो । पछिल्लो समयमा पशु तस्करी बढेकाले प्रहरीले राति पनि गस्ती गर्ने र चेकिङ गर्ने क्रम बढाएको थियो ।

 

खजुरा गाउँपालिका–५ को प्रतीक्षालय चोकमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलीको नजर बेहोस किशोरीलाई लिएर आइरहेको मोटरसाइकलमा पर्‍यो । एक जना युवकले मोटरसाइकल चलाएका थिए भने अर्का युवकले किशोरीलाई बोकेका थिए ।

 

किशोरीलाई अर्धचेत अवस्थामा देखेपछि आफूहरुले चौकीमा ल्याएर सोधपुछ गरेको इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक प्रेमप्रसाद रेग्मी बताउँछन् । ‘किशोरी जब होसमा आइन्, उनले नै आफूमाथि बलात्कार भएको बताइन्,’ रेग्मीले भने, ‘त्यसपछि उनीहरुकै बयानका आधारमा थप ५ जना पक्राउ गर्‍यौं ।