उपत्यकामा हैजाको प्रकोपले ठुलो रुप लिनसक्ने जनस्वास्थ्यविद्हरुको चेतावनी

आषाढ ११,२०७९

-

असार ११, २०७९ कामाण्डौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको बन्दै सचेत रहन आग्रह गरेको छ । शुक्रबार साँझसम्म काठमाडौंमा ८ जनामा हैजा पुष्टि भएको महाशाखाले जनाएको छ । हैजा पुष्टि भएका बिरामी बागबजार, डिल्लीबजार, घट्टेकुलो, बूढानीलकण्ठ, कपन, सानेपा, बालाजु, बल्खु र थानकोट क्षेत्रका रहेको टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले बताउनुभयो ।
 
 उपत्यकामा हैजा ‘आउटब्रेक’ हुने स्थिति आइसकेको भन्दै यसैगरी बिरामीको संख्या बढ्दै गएमा डरलाग्दो स्थिति आउन सक्ने निर्देशक रावलको भनाई छ । अहिले अस्पतालमा ८ जना भर्ना भएका छन् । उपत्यकामा सयभन्दा बढी हैजाको संक्रमित भइसकेको जनस्वास्थ्यविद्हरुको अनुमान छ । संक्रमणको स्रोत पत्ता नलाग्नु वा धेरै स्थानमा बिरामी देखा पर्नुले हैजा महामारीकै रुपमा फैलनसक्ने पूर्वसंकेत भएको महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले बताउनुभयो ।