अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिको कार्यविधि पास, सीसीटीभी फुटेज हेर्नेसम्मका कुरा समावेस

आषाढ २८,२०७९

-आस्था न्यूज

असार २८, २०७९ काठमाडौं ।
 
बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको विषयमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय समितिको पहिलो बैठकले कार्यविधि पास गरेको छ। 
 
सिंहदरबारमा बसेको बैठकले छानबिनका क्रममा गरिने कार्यहरुलाई उक्त कार्यविधिमा समेटेको हो। 
 
कार्यविधिअनुसार समितिले अर्थमन्त्रालयबाट कागजात मगाउने, सीसीटीभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्नेछ। 
 
समितिकी सदस्य विमला बिकका अनुसार पहिलो बैठक छानबिनका लागि कार्यविधि तय गर्नैमै सिमित रह्यो। सदस्य बिकले भनिन्, ‘छानबिनका क्रममा बजेट निर्माणको समयका विवरण र कागजात मगाउनेदेखि सीसीटीभी फुटेज हेर्नेसम्मका कुरा कार्यविधिमा समेटिएका छन्।’
 
कार्यविधिमा सीसीटीभी फुटेज हेर्ने उल्लेख गरिए पनि यसअघि अर्थ मन्त्रालयले डिलिट भइसकेको जनाएको छ। समितिले उक्त दिनको विभिन्न विवरण, सीसीटीभी रेकर्ड मगाउन मन्त्रालयलाई पत्र लेख्नेछ। 
 
सभापति भने बुधबारको बैठकमा चयन गरिनेछ। मंगलबार ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा बसेको बैठकले बुधबार सभापति चयन गर्ने निर्णय गरेको हो। 
 
पार्टीगत विवाद भन्दा पनि समय अभावका कारण उक्त विषयमा प्रवेश गर्न नपाएको सदस्य बिकले जानकारी दिइन्। समितिलाई छानबिन गरी १० दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ। अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिइसकेका छन्।