संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धन गरेरै जान कांग्रेस नेतृत्वलाई केन्द्रीय सदस्यहरुको सुझाव

आषाढ २८,२०७९

-आस्था न्यूज

असार २८, २०७९ काठमाडौं ।
नेपाली कांग्रेसका अधिकांस केन्द्रीय सदस्यहरुले गठबन्धनलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिन सुझाव दिएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबारदेखि जारी भएको केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने धेरैजसो सदस्यहरुले स्थानीय तह निर्वाचनमा समग्रमा गठबन्धनले राम्रो गरेकोले अब संघ र प्रदेशको निर्वाचनमा पनि त्यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका हुन् ।
 
अधिकांश सदस्यहरुले गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा यो परिणाम आएको छ । यद्यपि विभिन्न ठाउँमा प्लस र माइनस छ । तर समग्रमा गठबन्धनले राम्रो गरेको छ, केन्द्रीय सदस्यहरुको धारणा उद्धृत गर्दै प्रवक्ता प्रकाशशरण महतले भने,आउने निर्वाचनमा पनि निरन्तरता दिनुपर्छ । र, अहिलेका कमीकमजोरी र कहाँ-कहाँ समस्याहरु रहे भन्नेबाट सिकेर त्यसको आधारमा गठबन्धनका लागि मध्यनजर राख्नुपर्छ । स्थानीय तह निर्वाचनमा कुन दलको कति मत आयो त्यसलाई महत्वपूर्ण आधार मान्नुपर्ने कुराहरु साथीहरुले राख्नुभएको छ ।
 
गठबन्धन गरेरै जानुपर्ने निष्कर्ष रहेको भन्दै प्रवक्ता महतले कसरी गर्ने भन्ने विषयमा छलफल पछि हुने बताए । निर्वाचनमा अरुले गठबन्धन गर्दा के परिणाम आएको थियो सबैलाई थाहा छ, उनले भने, विविध अनुभवका आधारमा गठबन्धनलाई निरन्तरता दिएर निर्वाचनमा जाँदा राम्रो हुन्छ भन्ने साथीहरुको निष्कर्ष छ । कसरी गर्ने, कसरी जाने भन्ने कुरामा पछि छलफल हुन्छ ।
 
बैठकमा पार्टीको समग्र संरचनाहरुलाई पूर्णता दिएर चलायमान बनाउने विषय पनि उठेको उनले बताए ।