नेप्से परिसूचक झण्डै २४ अंकले बढ्यो, ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट

श्रावण ११,२०७९

-आस्था न्यूज

साउन ११, २०७९ काठमाडौं ।
 
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधवार झण्डै २४ अंकले उकालो लागेको छ ।
 
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अंकले उकालो लागेर २ हजार १११.९९ मा पुगेको छ ।
 
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अंकले उकालो लागेर ४०२.९२ अङ्कमा पुगेको छ । कूल २२७ कम्पनीको ७५ लाख ८ हजार १८८ कित्ता शेयर ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ मूल्यमा खरिद बिक्री भए ।
 
कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधवार व्यापार उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आयो । सो उपसमूहको शेयर मूल्य १२.०४ अंकले ओरालो लाग्यो । 
 
बैंकिङ ०.९२, होटल तथा पर्यटन २३.८७, विकास बैंक ५६, जलविद्युत् ७२.३५, वित्त ७५.७४, निर्जीवन बीमा ४३.८, उत्पादन १९.६६, अन्य ३८.९७, लघुवित्त १०७.७३, जीवन बीमा ३४.७९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६९ अंकले उकालो लागेका छन् ।
 
बुधवारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब १५ अर्ब ७८ करोड ९० लाख १४ हजार ६४९ रुपैयाँ बराबर पुगेको छ ।
 
कारोबारका आधारमा शिवम् सिमेन्ट बुधवार पनि शीर्ष स्थानमा छ । कम्पनीको १७ करोड ९४ लाख ११ हजार ८०८ रुपैयाँ बराबरको कारोबार भयो । अरुण काबेली पावर १२ करोड ३५ लाख ४३ हजार ६७६, गुर्खाज फाइनान्स ८ करोड ९२ लाख २१ हजार ७०८, नेष्डो समृद्धि लघुवित्त ८ करोड ४८ लाख ४१ हजार २३६ र युनिभर्सल पावर ८ करोड ४१ लाख ४ हजार ६४८ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।
 
नेप्सेका अनुसार उकालो लागेको बजारमा बुधवार ३ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यसमा जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्त छन् ।