सामान्य अंकको गिरावटसहित नेप्से कारोबार बन्द, ७८ लाख १३ हजार कित्ता सेयर किनबेच

श्रावण १७,२०७९

-आस्था न्यूज

साउन १७, २०७९ काठमाडौं ।
 
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७६ अंकले घटेको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयमा आएर बढ्न खोजेको थियो । तर, कारोबार रोकिँदासम्ममा  सामान्य अंकको गिरावटसहित बन्द भएको हो ।
 
यसक्रममा आज ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार रुपैयाँ बराबरको ७८ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ । सेयर घटेको दिन आज नेप्सेको मार्केट क्यापिटलाइजेसन ३१ खर्ब ३२ अर्ब १६ करोड रुपैयाँमा आइपुगेको छ ।
 
बजार घटेपनि आज ६ वटा समूहमा सुधार आएको छ । जसमध्ये व्यापार समूह सबैभन्दा धेरै ४३ अंकले बढेको छ भने लघुवित्त समूहमा ४१ अंकको सुधार आएको छ । यस्तै, जलविद्युत समूहमा २८ अंकको वृद्धि आउँदा वित्त समूह २४ अंकले बढेको छ ।
 
यस्तै, उत्पादनमूलक समूह ०.९२ अंकले बढ्दा म्युचुअल फण्ड समूह ०.०३ अंकले बढेको छ । यीबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । जसमध्ये जीवन बीमा समूहमा ६२ अंकको गिरावट आउँदा होटल र टुरिजम समूह २८ अंकले घटेको छ ।
 
 
यस्तै, विकास बैंक २२ अंक, अन्य समूह १७ अंक, निर्जीवन बीमा ७ अंक र बैंकिङ समूह ६ अंक र लगानी समूह ०।४४ अंकले घटेको छ । बजार घटेपनि विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सामलिङ पावर कम्पनी र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
हिजो सोमबार नेप्से परिसूचक १।१५ अंकले बढेको थियो । नेप्से परिसूचक सामान्य अंकले बढ्दा ४ अर्ब ४७ करोड रुपैयाँ बराबरको १ करोड ५१ लाख कित्ता सेयर खरिदबिक्री भएको थियो ।