एसिया कप क्रिकेटका छनोट खेलहरू ओमानमा आयोजना हुने

श्रावण २५,२०७९

-आस्था न्यूज

साउन २५, २०७९ काठमाडौं ।
एसीसी एसिया कप क्रिकेटको छनोटका खेलहरू ओमानमा आयोजना हुने भएको छन्। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले बुधबार एक विज्ञप्ति जारी गर्दै छनोट खेलहरु ओमानमा हुने जानकारी गराएको हो।
 
छनोट प्रतियोगिता २० अगस्टबाट २४ अगस्टसम्म चल्नेछ। प्रतियोगितामा सिंगापुर, युएई, हङकङ र कुबेत सहभागी हुनेछन्।
 
एसीसीका अनुसार सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष स्थानको टोली एसिया कपका लागि छनोट हुनेछ।
 
एसिया कप अगस्ट २७ बाट यूएईमा सुरू हुँदैछ। छनोट हुने टोली समूह ‘ए’मा रहने छन्। समूह ‘ए’मा साविक विजेता भारतसहित पाकिस्तान रहेका छन्।
 
प्रतियोगितामा ६ टोली सहभागी हुँदैछन्। एसीसीले सहभागी ६ टोलीलाई दुई समूहमा विभाजन गर्दै खेल तालिका सार्वजनिक गरेको छ।
 
समूह ‘बी’ श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेको छ। टी-२० फर्म्याटको प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाउने छन्। सुपर चारमा एकअर्काविरुद्ध खेल्ने छन्। त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्।
 
प्रतियोगिताको उद्घाटनमा श्रीलंका र अफगानिस्तानबीच अगस्ट २७ मा प्रतिस्पर्धा हुनेछ।
 
यसअघि एसिया कप श्रीलंकामा तय भएको थियो। तर, श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण युएईमा सारिएको हो।