दर्ता भएको ४ वर्षपछि प्रतिनिधिसभाबाट बिमा विधेयक बहुमतले पारित

श्रावण २९,२०७९

-आस्था न्यूज

साउन २९, २०७९ काठमाडौं ।
 
बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको ४ वर्षपछि पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले विधेयक बहुमतले पारित गरेको हो ।
 
बिमा प्रणाली तथा बिमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन भन्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७५ असार २७ गते संघीय संसद् सचिवालयमा विधेयक दर्ता गराएका थिए । त्यतिबेला प्रतिनिधिसभाको दोस्रो अधिवेशन चलिरहेको थियो भने पारित हुन भने ११ औँ अधिवेशन पुगेको छ ।
 
विधेयकले बिमा व्यवसायको नियमनकारी निकायका रुपमा नेपाल बिमा प्राधिकरण स्थापना गर्ने व्यवस्था गरेको छ । प्राधिकरण गठन भएसँगै हाल सञ्चालनमा रहेको बिमा समिति खारेज हुनेछ ।
 
प्राधिकरणले बिमा सम्बन्धमा सरकारको सल्लाहकारको रुपमा काम गर्ने मात्र नभई राष्ट्रिय बिमा नीति बनाउने, बिमा कम्पनीहरूको स्थापनाको स्वीकृति‚ इजाजत, नवीकरण र खारेजसम्मका काम गर्नेछ ।
 
प्राधिकरणको छुट्टै कोषसम्बन्धी व्यवस्था पनि विधेयकमा राखिएको छ । कोषमा सरकारबाट प्राप्त रकम, बिमा कम्पनीको स्थापना, पूर्व स्वीकृति, इजाजत तथा नवीकरण गरेबापतको रकम र बिमा मध्यस्थकर्ताको इजाजत तथा नवीकरणबापतको रकम रहनेछ । त्यस्तै बिमा व्यवसायको नियमन शुल्क तथा विभिन्न निकायबाट प्राप्त रकमलाई पनि कोषमा राखिने व्यवस्था पनि विधेयकले गरेको छ ।
 
प्रतिनिधिसभाबाट पारित विधेयक राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाबाट पनि पारित भएपछि विधेयक प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइनेछ । राष्ट्रपतिले प्रामणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।