सरकारले भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाल बोलाउने

श्रावण २९,२०७९

-आस्था न्यूज

साउन २९, २०७९ काठमाडौं ।
सरकारले भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय गरेको छ ।
 
नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्न उनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय सरकारले गरेको हो ।
 
आइतबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भ्रमणको औपचारिक निमन्त्रणा पठाउने निर्णय भएको जानकारी दिएका हुन् ।
 
नेपाली सेना र भारतीय सेनाबीच सन् १९५० देखि दुवै देशका सेना प्रमुखलाई एक आपसमा मानार्थ महारथी दिने प्रचलन छ ।
 
सोही परम्पराअनुसार नेपालका हालका प्रधानसेनापति प्रभुराम शर्माले २४ कात्तिक २०७८ मा भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी पदवी लिएका थिए ।
 
नेपाली सेनाका प्रधानसेनापति शर्माले २० देखि २३ भदौसम्म पाण्डेलाई नेपाल भ्रमणमा बोलाउने प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत गरे पनि मिति भने स्वीकृत भइसकेको छैन ।