मंसिर ४ मा हुने निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान, करिव ८ करोड मतपत्र छापिने

श्रावण २९,२०७९

-आस्था न्यूज

साउन २९, २०७९ काठमाडौं ।
 
निर्वाचन आयोगले आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने प्रक्षेपण गरेको छ । कुल मतदान १ करोड ८० लाख रहेकोमा १ करोड ३० लाख हाराहारीमा मतदान हुने आयोगले अनुमान गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । 
 
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि १० अर्ब अनुमानित खर्च हुने प्रक्षेपण गरेको छ । त्यस्तै निर्वाचनमा १० हजार ८५२ मतदान स्थल र २२ हजार ५ सय अस्थायी मतदान केन्द्र बाहेकका मतदान केन्द्र रहने बताएको छ ।  
 
८ करोड मतपत्र छापिने
 
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी निर्वाचनका लागि करिव ८ करोड मतपत्र छापिने जानकारी दिएका छन् । उनले ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिने बताए । 
 
‘यो वर्ष हामीले करिव ८ करोड जति मतपत्र छाप्नुपर्छ । ४ करोड मतपत्र समानुपातिकको छ । ६ वटा मेसिन दैनिक प्रयोग गर्दा पनि ३४ दिनमा ४ करोड मतपत्र मात्र छाप्न सकिन्छ’, उनले भने । 
 
आइतवार सम्पादकहरूसँग भएको छलफलमा प्रमुख आयुक्त थपलियाले मतपत्र छपाइको काम तत्कालै शुरू गरिने जानकारी दिए । उनले उम्मेदवारी दिँदा सम्बन्धित उम्मेदवारले सम्भावित खर्च, र त्यसको स्रोत बारेमा विवरण पेश गर्नुपर्ने बताए । ‘उम्मेदवारी दिँदा सम्भावित खर्च कति गर्ने हो? यति म खर्च गर्छु यो चुनावमा र त्यो स्रोत कहाँबाट आउँछ, जुटाउँछु भन्ने पनि साथमा पेश गर्नुपर्छ’ उनले भने । 
 
उनले गठबन्धन भन्ने शब्द संविधान र कानूनमा कतै व्यवस्था नरहेको बताएका छन् । अहिले दलहरूले दफा ४८ अनुसार एकल र दफा ४९ अनुसार मिलेर दल दर्ता गर्न पाउने बताए ।