सहकारीले विश्वास गुमाउँन थालेपछि धमाधम निक्षेप निकाल्दै बचतकर्ता, बढ्न थाल्यो तरलता

भाद्र ०२,२०७९

-आस्था न्यूज

भदौं २, २०७९ काठमाडौं ।
 
काठमाडौं महानगरपालिका-१४, कुलेश्वरमा केन्द्रीय कार्यालय रहेको गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको पैसा फिर्ता गर्न नसक्दा समस्याग्रस्त बनेको छ। 
 
करिब १२र१३ दिनयता सहकारी संस्थाका सञ्चालक र उच्च पदाधिकारी सम्पर्कविहीन भएको कारण सहकारी विभागमा उजुरी दिन आफूहरु बाध्य भएको पीडित बचतकर्ता विजय रञ्जितले बताए।
 
आफूलगायत हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ लिएर सहकारीका सञ्चालक फरार भएको हल्ला बाहिर आएपछि आफूहरु सहकारीविरुद्ध उजुरी दिन बाध्य भएको रन्जितको भनाइ छ। उनका अनुसार उक्त सहकारीले ५ हजार बचतकर्ता ९सेयर सदस्य० को करिब ७ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ। 
 
बचतकर्ताको उजुरीका आधारमा गौतम श्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम, उपाध्यक्ष निर्मला गौतम, सचिव राम गौतम, व्यवस्थापक रवीन्द्र विष्ट, सुपरभाइजर अनिल गौतम र लेखापाल सुनिता सिंहलाई पक्राउ गर्न सहकारी विभागले प्रहरीलाई पत्र लेखिसकेको थियो। उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष गौतम आफैं सम्पर्कमा आएर बचतकर्ताको लगानी फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनलाई पैसा तिर्ने समय दिइएको रन्जित बताउँछन्। 
 
उनी भन्छन्, ‘सहकारीले साना बचतकर्ताको पैसा ६ महिनासम्म र ठूला बचत कर्ताको पैसा एक वर्षसम्ममा फिर्ता गर्छु भनेको छ। त्यसैले हामी सबैजना बचतकर्ताले उक्त समयसम्म सहकारीलाई विश्वास गरेर कुर्ने निर्णय गरेका छौं।’ 
 
यसैगरी, ललितपुरको सातदोबाटोमा कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले नियम विपरीत लगानी गर्दा संस्था समस्यामा परेको सहकारी विभागले जानकारी दिएको छ। सहकारी ऐन, नियमावली विपरीत आफूखुसी जग्गा तथा निजी व्यवसायमा लगानी गर्दा उक्त संस्था डुबेको हो। संस्थाका अध्यक्ष रवीन्द्र चौलागाईंले आफूखुसी लगानी गरेको र संस्थामा नगद देखाई उक्त रकम आफैं चलाउने गरेको पाइएको सहकारी विभागको भनाइ छ। संस्था समस्यामा परेको थाहा पाएसँगै बचत निकाल्ने बचतकर्ताको संख्या पनि बढेको छ। 
 
यता, सुनसरी जिल्लाको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ताको बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ। संस्थाको समस्या समाधान गर्न छानबिन समिति गठन भएको छ। समितिले सञ्चालकको सम्पत्ति रोक्का गरेको छ। पीडित सेयर सदस्यले निक्षेप फिर्ता दिलाउन धरान उपमहानगरपालिकामा केही दिनअघि घेराउ गर्दै मेयर हर्क साम्पाङ राईविरुद्ध नाराबाजीसमेत गरेका थिए। 
 
सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्याय भन्छन्, ‘बराह सहकारी धरानको एउटा सहकारी संस्था हो। यो संस्थाले ठगी गर्‍यो भन्ने बचतकर्ताले धरान उपमहानगरपालिकामा उजुरी दर्ता गराउनु भएको छ। त्यहाँको समस्या समाधान गर्न पालिकाले संयन्त्र बनाएर काम गरिरहेको छ।’
 
सहकारीलाई सुरुमा स्थानीय तह र प्रदेशले नियमन गर्ने भएको कारण उक्त सहकारीको समस्या समाधानको क्षेत्राधिकार सम्बन्धित स्थानीय तहकै भएको उनी बताउँछन्। 
 
गौतम श्री, बराह र देउराली सहकारीमा देखिएको समस्या सहकारी क्षेत्रमा देखा परेको उदाहरण घटनाक्रममात्रै हुन् । 
 
पछिल्लो समय सहकारी क्षेत्रमा ठगीधन्दा व्यापक रुपमा बढेको छ। सहकारी संस्था बचतकर्तामुखी नभइ सञ्चालकहरुको स्वार्थमा चल्दा संस्थामा समस्या देखिएको जानकारहरु बताउँछन्। गौतम श्री सहकारीमा समस्या आएको थाहा पाएपछि बचतकर्ताहरुले निक्षेप अवधि पूरा नहुँदै जरिवाना तिरेर धमाधम आफ्नो पैसा निकालिरहेको सहकारी महासंघका अध्यक्ष मिनराज कँडेल बताउँछन्। 
 
पछिल्लो समय सहकारीमा यस्तो समस्या बारम्बार दोहोरिने गरेको छ। सहकारी विभागका सूचना अधिकारी उपाध्यायकाअनुसार सहकारी विभागमा सामान्य गुनासाहरु दैनिक रुपमा आइरहेको हुन्छन्। ‘हामीले दैनिक त्यसको रेकर्ड राख्ने गरेका छैनौं। हामीले गर्न सक्ने र मिलाउन सक्ने कामहरु सबै गरेर उहाँहरुलाई पठाउँछौं,’ उनी भन्छन्, ‘आर्थिक वर्ष २०७८र०७९ मा ३०० भन्दा बढी लिखित उजुरी परेका छन्। चालू आर्थिक वर्षको कुरा गर्ने हो भने गौतम श्री सहकारीका बचतकर्ताबाट ठूलो संख्यामा उजुरी आएको छ। यसैगरी, काठमाडौं बाहिरका केही जिल्लाका सहकारीमा पनि यस्तो समस्या देखिने गरेको छ। त्यसलाई हामीले यहाँबाट गर्ने काम कारबाही गरिरहेका छौं।’
 
एउटा संस्थामा यस्तो समस्या आउँदा बचतकर्ताहरुले सबै संस्थामा समस्या छ भन्ने बुझ्ने र दौडधूप गर्दा अहिले अधिकांश सहकारी संस्थामा केही समस्या देखिनसक्ने उनी बताउँछन्। ‘एउटा संस्थामा समस्या आउँदा अन्यमा पनि समस्या आउन सक्छ भनेर मान्छेहरु सचेत हुनु राम्रो हो। तर, हाम्रो बानी के छ भने एउटा संस्थामा समस्या आयो भने सबैमा समस्या आउँछ भनेर बुझ्ने गलत प्रवृत्ति छ,’ उनी थप्छन्, ‘अनि अर्को कुरा हाम्रो कमजोरी भनेको जब बाहिर समस्या आउँछ तबमात्र बुझ्न थाल्ने। अरु समयमा संस्थाबारे केही चासो नराख्ने बानीले पनि समस्या देखिएको छ।’
 
कुनै पनि सहकारी संस्थाको बचतकर्ता होस् वा सेयर लगानीकर्ता दुवैले आफूले पैसा राखेको संस्थाले उद्देश्यअनुसार काम गरेको छरछैन त्यसको जानकारी बेला–बेलामा लिइरहँदा पनि समस्याको केही हदसम्म समाधान गर्न सकिने उनी बताउँछन्। 
 
उनी भन्छन्, ‘अहिले गौतम श्री र देउराली सहकारीको समस्यापछि अरु संस्थामा पनि विथ ड्र गर्नेक्रम बढेको छ। जसले गर्दा एकैपटक सहकारीहरुलाई बचतको पैसा फिर्ता दिन समस्या पर्‍यो भन्ने कुरा साँचो हो। यस्ता समस्या लिएर सहकारी कम्पनीहरु राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेडमा आउने गरेका छन्।’ 
 
सहकारीले अहिले निक्षेपको ८० प्रतिशत ऋण लगानी गरेका छन्। अहिले नै ८० प्रतिशत ऋण उठाउन सक्ने अवस्था नरहेको कडेँल बताउँछन्। जसले गर्दा चलिरहेको सहकारीमा पनि समस्या देखिन थालेको उनको बुझाइ छ।  
 
यही अवस्था रहे सबै सहकारी बन्द गर्नुपर्ने अवस्था आउँछः सहकारी कम्पनी
काठमाडौंको न्युरोडस्थित एक सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष आफ्नो नाम न खुलाउने सर्तमा भन्छन्, ‘केही सहकारी संस्थामा आएको समस्याले अहिले यहाँ सञ्चालनमा रहेका अधिकांश सहकारी संस्थामा कसरी बचतकर्ताको पैसा फिर्ता गर्ने भन्ने चिन्ता बढेको छ। उनले भने, ‘यसलाई तत्काल समाधान गर्न राज्यको ध्यान गएन भने सञ्चालनमा रहेका अधिकांश सहकारीहरु बन्द गर्नुपर्ने अवस्था आउँछ।’
 
अहिले देशैभर सहकारी क्षेत्रमा यस्तो समस्या देखिएकाले सबै ठाउँको सहकारी संकटमा पर्नसक्ने उनी बताँछन्। ‘गैरकानुनी काम गर्ने सहकारी त समस्या परे। तर, त्यसले गर्दा राम्रो काम गरेर केही गर्न खोज्ने सहकारीलाई पनि अहिलेको समयमा टिक्न गाह्रो छ’, उनी भन्छन्। 
 
कोभिड–१९ को संक्रमण र रुस–युक्रेन युद्धको प्रभावले विश्वव्यापी रुपमा देखा परेको आर्थिक मन्दीले गर्दा लगानीमा गएको ऋण नउठ्ने र आवधिक बचत भनेर राखेको पैसा फिर्ता लिनेक्रम बढेसंगै सहकारीमा तरलताको समस्या देखिन थालेको महासंघका अध्यक्ष कडेँल बताउँछन्। नेपाल लाइभबाट