निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव

नेपाल प्रहरीद्धारा चुनावी सुरक्षाका लागि सेनासँग २६ सय हतियार माग

भाद्र ०६,२०७९

-आस्था न्यूज

भदौ ६, २०७९ काठमाडौं ।
 
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सुरक्षाका लागि हतियार अपुग भएको बताउँदै नेपाल प्रहरीले नेपाली सेनासँग हतियार मागेको छ।  प्रहरी प्रधान कार्यालयका अनुसार चुनावी सुरक्षाका लागि सेनासँग २ हजार ६०० थान साना हतियार (पेस्तोल) माग गरिएको छ। 
 
स्थानीय तहको निर्वाचनमा समेत सेनासँग हतियार मागेर काम चलाएको प्रहरीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि पनि सेनासँग हतियार सापट लिन लागेको हो। 
 
स्थानीय तहको चुनावमा प्रहरीले सेनासँग २ हजार थान पेस्तोल माग गरेको थियो। त्यतिबेला सेनाले समय थोरै भएको भन्दै हतियार संकलन गर्न नसकिएको जानकारी गराउँदै १ हजार थान पेस्तोल मात्रै प्रहरीलाई उपलब्ध गराएको थियो। 
 
अघिल्लोपटक समय अपुग भएकाले हतियार संकलन गर्न नसकिएको भन्दै सेनाले मागको आधामात्रै उपलब्ध गराएकाले यो पटक भने बेलैमा सेनालाई पत्राचार गर्दै हतियार माग गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
 
संघ र प्रदेशको चुनावमा एकै चरणमा  गनुपर्ने र मतदानस्थल र मतपेटिका पनि स्थानीय तहको भन्दा बढी हुने भएकाले सुरक्षाकर्मीका साथै हतियार पनि यो पटक बढी चाहिने केन्द्रीय निर्वाचन सेलले उल्लेख गरेको छ। 
 
सेनाले माग अनुसार नै हतियार उपलब्ध गराएको अवस्थामा चुनावी सुरक्षाका लागि पेस्तोलको उपलब्धता पर्याप्त हुने प्रहरीले जनाएको छ। 
 
नेपाल प्रहरीले आगामी निर्वाचनका लागि १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने भन्दै प्रस्ताव पेस गरेको छ। यसअघि स्थानीय तहको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना गरिएको थियो। 
 
आउँदो निर्वाचनमा प्रदेश र प्रतिनिधि सभाका सदस्य निर्वाचित गर्न एकैपटक मतदान गर्नुपर्ने र बुथहरु पनि धेरै हुनेहुँदा म्यादी प्रहरीको संख्या समेत बढाउनुपर्ने भन्दै गृह मन्त्रालयलाई रिपोर्ट पेस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 
 
म्यादी प्रहरी भर्नासँगै आवश्यक पर्ने अन्य बन्दोबस्तीका सामानहरु र अनुमानित खर्चको विवरण पेस गरिएको र उक्त विवरण मन्त्रालयमा अहिले छलफलकै क्रममा रहेको प्रहरी प्रधान कार्यालयका एक अधिकारीले नेपाल लाइभलाई जानकारी दिए। 
 
प्रहरीले चुनावी प्रयोजनका लागि भन्दै ३ अर्ब ४७ करोड ३५ लाख बजेट माग गरेको छ। बजेटको धेरै हिस्सा गाडी खरिद र भाडामा लिन प्रयोग हुने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। प्रहरी प्रधान कार्यालयले स्थानीय तहको निर्वाचनका बेला पनि सवारी साधन आवश्यक रहेको भन्दै खरिदका लागि बजेट माग गरेका थियो। त्यतिबेला अर्थले सवारी साधन खरिदका रकम निकासा गरेको थिएन।
 
अहिले फेरि मंसिर ४ गते हुने प्रदेश र संघको चुनावलाई लक्षित गर्दै सवारी साधन आवश्यक रहेको भन्दै बजेट माग गरिएको छ। यसअघि चुनावमा प्रहरीले भाडामा सवारी साधन प्रयोग गरेको थियो। अहिले फेरि त्यही अवस्था आउन लागेको भन्दै प्रहरी प्रधान कार्यालयले सवारी साधन खरिदका लागि रकम माग गरेको हो।