माओवादी - समाजवादी पार्टी एकता निर्वाचनपछि:

चुनावमा माओवादी र नेकपा समाजवादीले एउटै घोषणापत्र बनाउने

भाद्र ०६,२०७९

-आस्था न्यूज

भदौ ६, २०७९ काठमाडौं ।
 
पार्टी एकताको गृहकार्य गरिरहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मंसिर ४ मा हुने निर्वाचनमा एउटै घोषणापत्र बनाउने भएका छन् । सोमबार विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भएको छलफलमा दुई पार्टी एउटै घोषणापत्र लिएर निर्वाचनमा जान सहमत भएका हुन् । 
 
मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ ।  पार्टी एकताको पहल गरिरहेका दुई पार्टीबीच एकता भने निर्वाचनपछि मात्रै हुने भएको छ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले एउटै घोषणापत्र लिएर चुनावमा जाने सहमति जुटेको प्रतिक्रिया दिए ।
 
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावअघि पार्टी एकता नहुने तर अरु विषय मिलाउँदै जान सहमत भएको प्रतिक्रिया दिए ।  अध्यक्ष नेपालले पार्टी एकता संयोजन समिति समेत चाँडै बन्ने संकेत गरे । केही दिनमा दुवै दलका तर्फबाट सदस्यहरु तोकिने उनको भनाई छ ।