नवौं राष्ट्रिय खेलकुदः पुरुष भलिबलमा एपीएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी

आश्विन २९,२०७९

-आस्था न्यूज

असोज २९, २०७९ काठमाडौं ।
 
नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा विभागीय टिम हाबी भएका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा शनिबार लिग चरणको तीनवटै खेलमा एपीएफ, त्रिभुवन आर्मी र पुलिस क्लब विजयी भएका हुन् । 
 
पहिलो खेलमा एपीएफले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक खेलेको एनआरएनएलाई एपीएफले २५–१९ मा समेट्यो । दोस्रो २५–१५ र तेस्रो २५–१३ मा विजय हासिल गर्दै समूह ‘सी’मा पहिलो जित दर्ता गरायो । जितसँगै एपीएफले ३ अंक जोड्यो ।
 
शनिबारको दोस्रो खेलमा त्रिभुवन आर्मीले प्रदेश १ लाई ३–० कै सेटमा पराजित गर्‍यो । पहिलो सेटमा १२–२५ ले पछि परेको प्रदेश १ ले दोस्रो सेटमा १९–२५ ले लयमा फर्किन खोज्यो । तेस्रो सुरुवातदेखि नै प्रतिस्पर्धात्मक बन्यो ।
 
सुरुको अंकदेखि नै १–१ अंकले अघिपछि हुँदै गर्दा निकै रोमाञ्चक बनेको उक्त सेट प्रदेश १ ले अन्ततः २३–२५ ले आर्मीलाई सुम्पियो । प्रदेश १ तेस्रो सेटमा लयमा फर्किँदा दर्शकको साथ पाए पनि कुनै सेट आफ्नो पक्षमा पार्न सकेन । समूह ‘बी’मा पहिलो जित दर्ता गर्दै आर्मीले ३ अंक जोड्यो ।
 
समूह ‘ए’मा पुलिसले लुम्बिनी प्रदेशलाई हराउँदै शीर्ष स्थान कायम राखेको छ । शनिबार लुम्बिनीलाई २५–१२, २५–८ र २५–२१ को सेटमा पराजित गर्दै पुलिसले थप ३ अंक जोडेको हो । यसअघि शुक्रबार कर्णालीलाई ३–० को सेटमा हराएर पुलिसले ३ अंक जोडेको थियो । पुलिस ६ अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ ।
 
आइतबारको पहिलो खेल त्रिभुवन आर्मी र मधेस प्रदेश, दोस्रो खेल एपीएफ र सुदूरपश्चिम, तेस्रो खेल कर्णाली र लुम्बिनी प्रदेशबीच हुनेछ । पुरुष भलिबलमा ४ समूहमा ११ टिम सहभागी छन् । हरेक समूहका दुई विजेता क्वाटरफाइनल चरणमा प्रवेश गर्नेछन् । समूह ‘डी’मा गण्डकी र वाग्मती मात्रै रहेकाले सिधैं क्वाटरफाइनल प्रवेश गरिसकेका छन् । शुक्रबार वाग्मतीलाई हराएर गण्डकी समूह विजेता बनेको थियो ।