भारतीय कम्पनीको औषधि खाँदा ६६ जना बालबालिकाको मृत्यु

आश्विन २९,२०७९

-आस्था न्यूज

असोज २९, २०७९ काठमाडौं ।
भारतको हरियाणास्थित एक कम्पनीद्वारा उत्पादित रूघाखोकीको औषधि कफ एन्ड कोल्ड सिरप खाएर अफ्रिकी देश गाम्बियामा ६६ जना बालबालिकाको मृत्यु भएको छ
 
यो घटनापछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले उक्त औषधि उत्पादक कम्पनीका नाममा चेतावनी जारी गरेको बिबिसीले जनाएको छ।
 
डब्लुएचओ प्रमुख टेड्रोस गेब्रियेससले भनेका छन्, डब्लुएचओले गाम्बियामा फेला परेको चार किसिमका कफ सिरप औषधिलाई लिएर चेतावनी जारी गरेको छ। यो औषधि खाएपछि मिर्गौलामा समस्या देखिनुका साथै ६६ जना बालबालिकाको मृत्यु भएको छ। यो अत्यन्त दुखद घटना हो।
 
यी चार किसिमका कफ सिरप भारतको हरियाणास्थित मैडेन फर्मास्युटिकल्स लिमिटेडले उत्पादन गरेको हो। बिबिसीका अनुसार डब्लुएचओ र भारतीय औषधि नियमन संस्थाले उक्त कम्पनीमाथि छानबिन गरिरहेको छ।
 
डब्लुएचओले अन्य मुलुकलाई पनि भारतबाट आयातीत कफ सिरप औषधि जाँच गरेर प्रयोगबाट हटाउन सल्लाह दिएको छ। भारतीय कम्पनीले यी औषधिको सुरक्षाको ग्यारेन्टी पनि नदिएको डब्लुएचओले दाबी गरेको छ।
 
डब्लुएचओले शंकास्पद औषधिहरूको नाम पनि सार्वजनिक गरेको छ( प्रोमिथाजाइन ओरल सोलुसन, कोफेक्सामलिन बेबी कफ सिरप, मेकआफ बेबी कफ सिरप र मैगरिप एन्ड कोल्ड सिरप।
 
अहिलेसम्म यी औषधि गाम्बियामा मात्र फेला परे पनि अन्य देशमा समेत आपूर्ति भएको हुनसक्ने डब्लुएचओले जनाएको छ।