तल्लो तहमा चुनाव जित्ने गरी गठबन्धनलाई बलियो बनाउन कार्यकर्तालाई देउवाको आग्रह

कार्तिक ०४,२०७९

-आस्था न्यूज

कार्तिक ४, २०७९ काठमाडौं ।
 
कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनलाई स्थानीय स्तरबाटै बलियो बनाएर अघि बढ्न सत्ता गठबन्धन दलहरूका सबै कार्यकर्तासमक्ष आग्रह गरेका छन् । केन्द्रमा राम्रो सम्बन्ध भएको भन्दै तल्लो तहसम्म पनि सोही अनुसारको सम्बन्ध अघि बढाउन उनले आग्रह गरेका हुन् ।
 
‘हामी माथि राम्रैसँग मिलेकै छौं । तल अझ बढी मिल्नुपर्छ । मिल्नुहोला नमिले अरुले जित्ला,’ गठबन्धनको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शुक्रबार उनले एक भएर अघि बढेमा आफुहरुले जित्ने दाबी गरे । सरकार हाम्रो भएपछि अवसरै अवसर रहेको देउवाको भनाई छ ।
 
गठबन्धनका दलहरुले आपसी सम्बन्ध बढाएर गठबन्धनलाई चुनाव जिताएर सरकार गठन गर्ने वातावरण बनाएपछि अहिले टिकट नपाएकाहरुलाई अवसर आइहाल्ने उनको भनाइ थियो । ‘पार्टीका कसैले टिकट पायो कसैले पाएन । सबै पार्टीको अवस्था यही हो’ उनले भने, ‘भोलि गठबन्धनले जितेर सरकार बनाए पचासौंवटा अवसर आउने छन् सोही अनुसार लाग्नुपर्‍यो ।’
 
गठबन्धनलाई कुनै पनि बहानामा शंका उत्पन्न नगराउन र आग्रहपूर्वाग्रह नराख्न पनि उनले आग्रह गरेका थिए । गठबन्धन आजको आवस्यकता रहेको भन्दै गठबन्धनका दल, तिनका नेताप्रति शंकाले नहेर्न र बोली तथा भाषामा पनि तिक्तता ल्याउने काम नगर्न उनले आग्रह गरे ।
 
‘राजनीतिममा कुनै न कुनै ठाउँमा सम्झौता गर्नैपर्छ,’ देउवाले भने, ‘त्यसैले हिजोका कुराको कुनै अर्थ छैन ।’ रक्तपात र लडाइँबाट देशलाई मुक्त गराएको भन्दै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद दिएका थिए । गठबन्धन महत्त्वपूर्ण उपलब्धी रहेको र चुनावपछि नेपालको एउटा स्पष्ट नक्सा कोर्ने मात्र नभइ समावेशी लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढिकरण गर्दै सच्चा मानेमा राष्ट्रिय एकता स्थापित गर्ने उनले बताए । अहिले एउटै पार्टीलेमात्र सरकार बनाउने अवस्था नभएकाले पार्टी मिल्नु परेको, गठबन्धन बनाउनु परेको उनको भनाइ थियो ।
 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई पवित्रको संज्ञा दिँदै यो स्थिरता, शान्ति, राष्ट्रिय स्वाधिनता र संविधान रक्षाका लागि मात्रै रहेको दाबी गरे । निर्वाचनपछि मुलुक आर्थिक विकासको नयाँ युगमा प्रवेश गर्ने भन्दै उनले यसका लागि गठबन्धनलाई जिताउनुपर्ने बताए ।
 
‘गठबन्धन सहजरुपमा बनेको होइन । धेरै तितामिठा अनुभवबाट यो बनेको हो । यही गठबन्धनले नै सुशासन र आर्थिक समृद्धि पूरा गर्नेछ,’ प्रधानमन्त्री देउवाले भने । यस क्रममा उनले एमाले नेतृत्वको गठबन्धन अहिलेको परिवर्तन उल्ट्याउन लागिपरेको आरोप पनि लगाएका थिए । उनले गठबन्धनको सहमति अनुसार एक छौं भन्ने सन्देश प्रवाह गर्न र तल्लो तहसम्म ऐक्यवद्धता प्रकट गर्न आफुहरू आएको भन्दै उनले गठबन्धनको आवस्यकता र औचित्य प्रस्टाएका थिए ।
 
यसैबीच प्रतिगमन र निरकुंशताको जोखिम रहेसम्म गठबन्धन रहिरहने पनि उनको भनाइ थियो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन बनाउनुको औचित्यबारे जनतामाझ प्रस्ट पार्नुपर्नेमा जोड दिएका थिए ।