कपिलवस्तुमा ट्रक दुर्घटनामा दुई जना सशस्त्र प्रहरीको मृत्यु

कार्तिक ०५,२०७९

-आस्था न्यूज

कार्तिक ५, २०७९ काठमाडौं ।
कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
 
शुक्रबार साँझ बाणगङ्गा नगरपालिका–३ सिउटीमा सो ट्रक अनियन्त्रित भई दुर्घटनामा परेको हो। ४ नं तौलिहवा सडकखण्डमा भएको दुर्घटनामा चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए।
 
 
ट्रकले ठक्कर दिँदा सडकमा हिँडिरहेका स्थानीय सागर पाण्डे, राजु चौधरी र कुलबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनीहरुको बुटवलमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। ट्रकमा सवार थप तीनजना सशस्त्र प्रहरी जवान गोविन्द सुवेदी, जनक चौधरी र प्रेम मल्ल घाइते भएका छन्।
 
उनीहरुको कपिलवस्तु सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ। बस्ती नजिकै भएको दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीले घाइतेको उद्धार गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ।