रामेछापको गर्जाङदेखि देवीटारसम्मको १ सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा

कार्तिक १५,२०७९

-आस्था न्यूज

कार्तिक १५, २०७९ काठमाडौं ।
रामेछापको गर्जाङदेखि देवीटारसम्मको १ सय ३२ केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले उक्त प्रसारण लाइन निर्माण पूरा गरेको हो । गोकुलगंगा गाउँपालिका १ गर्जाङदेखि मन्थली नगरपालिका १३ फुलासीस्थित न्यू खिम्ती सबस्टेसनसम्मको उक्त प्रसारण लाइन पूरा भएपछि खिम्ती खोलामा निर्माण भएको उपल्लो खिम्ती र माथिल्लो खिम्ती जलविद्युत् आयोजनाबाट उत्पादित १९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ । 
 
जम्मा ३१ किलोमिटर लामो उक्त प्रसारण लाइनको निर्माण २०७३ देखि थालिएको थियो । कोभिड माहामारीले निर्माण सामग्रीको आयात गर्न भएको ढिलाइ र स्थानीय अवरोधका कारण निर्धारित समयमा आयोजना पूरा हुन सकेको थिएन । गर्जाङ–खिम्ती १३२ केभी प्रसारण लाइन समयमा पूरा नहुदा माथिल्लो खिम्ती र अपर खिम्तीको १९ मेगावाट विद्युत् करिब ७ महिनासम्म खेर गएको थियो । हिमालय उर्जा कम्पनीले उत्पादन गरेको उक्त विद्युत्‌लाई चार महिनाअघि जिरी सबस्टेसनबाट मकैबारी हुँदै सिंगटीसम्म ३३ केभी लाइनबाट राष्ट्रिय प्रसारणमा जोडिएको थियो । अब भने सिधै १३२ केभीबाट उक्त विद्युत् प्रवाह गरिएको हिमालय उर्जा कम्पनीका संचालक सरोज उपाध्यायले बताए ।
 
कुल १ सय ५ वटा टावर उक्त प्रसारण लाइन रामेछाप र दोलखाका विभिन्न भागमा निर्माण गरिएको छ । करिब २ करोड अमेरिकी डलर लागतमा निर्माण भएको प्रसारण लाइनबाट करिब २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्ने प्राधिकरणले जनाएको छ । खिम्ती खोलामा निर्माणाधीन पिपुल्स हाइड्रोबाट उत्पादित विद्युत् समेत अब सोही प्रसारण लाइनबाट न्यू खिम्ती पुर्‍याउने लक्ष्य छ ।
 
उत्तरी रामेछापको उमाकुण्डमा निर्माणाधीन लिखु १ र २ आयोजनाको विद्युत् भने अलग्यै प्रसारण लाइनबाट खिम्ती पुर्‍याउने गरी डिजाइन गरीएको छ । ती दुबै आयोजनाको विद्युत् लिखु ए जलविद्युत् आयोजनाकै उत्पादनसँग मिसाएर प्रसारण लाइनमा पठाइने छ । लिखु ए बाट उत्पादित २९ मेगावाट विद्युत् यसअघि नै न्यू खिम्ती सबस्टेसनमा जोडिइसकेको छ ।