निर्वाचनमा राजनीतिक दलका लागि खर्च सीमा ५ करोड ५० लाख निर्धारण

कार्तिक १५,२०७९

-आस्था न्यूज

कार्तिक १५, २०७९ काठमाडौं ।
निर्वाचन आयोगले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा राजनीतिक दलका लागि खर्च सीमा ५ करोड ५० लाख रुपैयाँ निर्धारण गरेको छ । दलहरुले समानुपातिकतर्फको बन्दसूचीको आधारमा आयोगले खर्चसीमा निर्धारण गरेको हो ।
 
कुनै एक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ एउटा उम्मेदवार बराबर २ लाख र प्रदेश समानुपातिकतर्फ १ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छ । यसअनुसार प्रतिनिधिसभातर्फ १ सय १० जना समानुपातिक उम्मेदवारको सूची बुझाउने दलले २ करोड २० लाख रुपैयाँ खर्च गर्न पाउने छ ।
 
प्रदेश समानुपातिकतर्फ दलहरूले अधिकतम २२० जनासम्मको नाम बुझाएका छन् । त्यस आधारमा कुनै एक दलले ३ करोड ३० लाख रुपैयाँ प्रदेश समानुपातिकतर्फ खर्च गर्न पाउनेछ ।
 
यसअघि प्रत्यक्षतर्फका उम्मेदवारको खर्च सीमा तोकिसकेको छ । २५ देखि ३३ लाख प्रतिनिधसभातर्फ र प्रदेशसभाका प्रत्यक्ष उम्मेदवारले १५ देखि २३ लाख रुपैयाँ खर्च सीमा निर्धारण गरिसकेको छ ।
 
निर्वाचन आयोगले उम्मेदवार र दलले मतदाता नामावली खरिद, प्रचारप्रसार सामग्री, गोष्ठी, अन्तरक्रिया, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचार, कार्यालय सञ्चालन‚ प्रतिनिधि परिचालन र सवारी साधनमा खर्च गर्न सक्ने जनाएको छ ।