एमालेको घोषणापत्रः फेरि पनि माछा, मासु, दुध र अण्डामा आत्मनिर्भरताको नारा

कार्तिक १५,२०७९

-आस्था न्यूज

कार्तिक १५, २०७९ काठमाडौं ।
नेकपा एमालेले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै मंगलबार घोषणापत्र सार्वजनिक गरेको छ । २०७४ को निर्वाचनमा एमाले र नेकपा माओवादी केन्द्रले ‘वाम गठबन्धन’ बनाएर साझा घोषणापत्र ल्याएका थिए । अहिले एमालेले ल्याएको घोषणापत्र र अघिल्लो निर्वाचनमा एमालेसहितको वाम गठबन्धनले ल्याएको घोषणापत्रमा तुलनात्मक भिन्नता के छ भन्नेबारे चासो बढेको छ ।
 
प्रतिव्यक्ति आयको लक्ष्य घट्यो
 
२०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रले ल्याएको संयुक्त घोषणापत्रमा १० वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार अमेरिकी डलर पुर्‍याउने उल्लेख थियो तर अहिले एमालेले प्रतिव्यक्ति आय २४ सय अमेरिकी डलर पुर्‍याउने लक्ष्य घोषणापत्रमा समेटेको छ ।
 
‘आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्‍याइने छ । १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिलाई १० प्रतिशतभन्दा माथि पुर्‍याउने राष्ट्रिय अर्थतन्त्र निर्माण गरिनेछ,’ २०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रमा भनिएको थियो ।
 
आम निर्वाचन २०७९ का लागि एमालेले ल्याएको घोषणपत्रमा नेपालीको औसत प्रतिव्यक्ति आय २४०० अमेरिकी डलर पुर्‍याउने उल्लेख छ । यस्तै पाँच वर्षभित्र कुल गार्हस्थ उत्पादन एक सय खर्ब पुर्‍याउने प्रतिबद्धता पनि एमालेले घोषणापत्रमा गरेको छ ।
 
फेरि पनि माछा, मासु, दुध, अण्डामा आत्मनिर्भरताको नारा
 
नेकपा एमालेसहितको वाम गठबन्धनले २०७४ को निर्वाचनकै लागि ल्याएको घोषणापत्रमा माछा, मासु, दुध, अण्डामा मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता जनाइएको थियो । एमालेले अहिले फेरि तिनै वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने प्रतिबद्धता जाहेर गर्दै घोषणापत्र ल्याएको छ ।
 
‘दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा, मासु, अण्डा र दुधमा आत्मनिर्भर बनाइने छ । पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पुर्‍याइने छ,’ २०७४ को घोषणापत्रमा भनिएको थियो ।
 
अहिले एमालेले ल्याएको घोषणापत्रमा भनिएको छ, ‘कृषि क्षेत्रको लगानीलाई दोब्बर बनाइने छ । प्रमुख खाद्य बालीहरु धान, मकै, गहुँ, फापर, तरकारी र फलफूल तथा दुध, अण्डा, मासु, माछा र पशुपन्छीका उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाइने छ ।’
 
रासायनिक मलको एजेण्डा पनि उही
 
२०७४ कै घोषणापत्रमा ‘कृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्रै उत्पादन गरिने छ’ भनिएको थियो । एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा पनि पाँच वर्षभित्र रासायनिक मल कारखाना स्थापना गरिने भनिएको छ ।
 
सिंचाई
 
२०७४ को घोषणापत्रमा ‘पाँच वर्षमा सम्पूर्ण सिंचाईयोग्य कृषि भूमिमा आधुनिक सिंचाई प्रणाली लागू गरिनेछ’ भनिएको थियो । अहिले एमालेले ल्याएको घोषणापत्रमा पनि ‘सबै कृषियोग्य भूमिमा सिंचाई सुविधा पुर्‍याइने छ’ भनिएको छ ।
 
यस अतिरिक्त एमालेले ताल, पोखरी र भूमिको सतहमा पानीको स्तर तल जान नदिने तथा नयाँ प्रविधिमा आधारित सिंचाई प्रणाली समेतको अधिकाधिक उपयोग गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।
 
यातायात
 
२०७४ को घोषणापत्रमा ‘काठमाडौं–तराई द्रुत मार्ग चार वर्षभित्र निर्माण गरिने छ’ भनिएको थियो । यद्यपि, सो द्रुतमार्ग अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
 
अहिले एमालेले ल्याएको घोषणापत्रमा द्रुत मार्गको विषय उल्लेख नगरिए पनि ‘निर्माणाधीन राष्ट्रिय राजमार्ग, रणनीतिक महत्वका सबै राजमार्ग र आर्थिक समृद्धिको केन्द्र जोड्ने सडकको निर्माण कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गरिने छ’ भनिएको छ ।
 
पूर्व-पश्चिम राजमार्ग, रणनीतिक राजमार्ग, उत्तर–दक्षिणका कोरिडोर राजमार्गलाई विकास तथा विस्तार गर्ने कार्य आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने प्रतिबद्धता एमालेले घोषणापत्रमा व्यक्त गरेको छ ।
 
यस्तै, अघिल्लो निर्वाचनमा ल्याइएको घोषणापत्रमा ‘आगामी पाँच वर्षभित्र पूर्व–पश्चिम राजमार्गको समानान्तर तीव्र गतिका विद्युतीय रेल सञ्चालन गरिने छ’ भनिएको थियो ।
 
यसै अवधिमा रसुवागढी-काठमाडौं–पोखरा, लुम्बिनी विद्युतीय रेलमार्ग निर्माण गर्ने र आगामी पाँच वर्षमा राजधानी उपत्यकाका चक्रपथहरुमा आवश्यक गतिको रेल सञ्चालन गरिने योजना अघि सारिएको थियो ।
 
अहिले एमालेले ल्याएको घोषणापत्रमा ‘निर्माणाधीन पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माण कार्य सम्पन्न गरी रेल सञ्चालन गरिने छ’ भनिएको छ ।
 
‘निजगढ–बुटवल खण्डको निर्माण कार्य अघि बढाइने छ, बाँकी भागको जग्गा अधिग्रहण कार्य गरिने छ । रसुवागढी–काठमाडौं रेलमार्ग र वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माणको प्रक्रिया सुरु गरिने छ । सबै महानगर, काठमाडौं उपत्यकामा मेट्रो रेल, सहरी केवलकार एवं पडवेजस्ता आधुनिक परिवहन सेवा सञ्चालनका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गरिने छ,’ एमालेले अहिले ल्याएको घोषणापत्रमा भनिएको छ ।
 
प्रेस स्वतन्त्रता
 
२०७४ को निर्वाचनमा पूर्ण प्रेस स्वतन्त्रतामा प्रतिबद्धता जनाएको एमालेले अहिले भने पूर्ण प्रेस स्वतन्त्रतालाई छुट्टै परिभाषासहित व्याख्या गरेको छ ।
 
‘पूर्ण प्रेस स्वतन्त्रतासहितको लोकतन्त्र लागू गरिने छ । आम सञ्चारमाध्यमलाई निष्पक्ष, व्यावसायिक, उत्तरदायी र जिम्मेवार उद्योगका रुपमा विकास गरिने छ । मिडियामा प्रत्यक्ष वा परोक्ष रुपमा विदेशी लगानी निषेध गरिनेछ,’ २०७४ को घोषणापत्रमा भनिएको थियो ।
 
अहिले एमालेले ल्याएको घोषणापत्रमा भनिएको छ, ‘सञ्चार जगतलाई गरिमामय बनाइने छ, सञ्चारकर्मीको हक हितको संरक्षण गरिने छ । मिडियामा प्रत्यक्ष वा परोक्ष रुपमा हुने विदेशी लगानी निषेध गरिने छ । राष्ट्र, लोकतन्त्र, शान्ति, विकास र सामाजिक सद्भावप्रति जिम्मेवारीसहितको पूर्ण प्रेस स्वतन्त्रता कायम गरिने छ ।’
 
एमालेले राष्ट्रियता, राष्ट्रिय एकता तथा राष्ट्रिय हित विपरीतका समाचार, मिथ्या एवं द्वेषपूर्ण सूचनाद्वारा जनताको सुसूचित हुने हकलाई कुष्ठित गर्ने कार्यलाई हतोत्साहित गरिने पनि घोषणापत्रमा उल्लेख गरेको छ ।
 
काठमाडौंमा विद्युतीय वाहन
 
‘पहिलो वर्षबाट सुरु गरेर दोस्रो वर्षमा सम्पन्न हुने गरी काठमाडौंमा पेट्रोलियम वाहनहरुलाई विद्युतीय वाहनबाट प्रतिस्थापन गरिने छ,’ २०७४ को घोषणापत्रमा भनिएको थियो ।
 
दुई वर्षमै पूरा गर्ने भनिएको उक्त लक्ष्य एमाले अध्यक्ष केपी शर्मा ओलीले ४१ महिना सरकारको नेतृत्व गर्दा पनि पूरा गरेनन् ।
 
सो एजेण्डालाई अहिले फेरि एमालेले आफ्नो घोषणापत्रमा समेट्दै भनेको छ, ‘काठमाडौं उपत्यकाको ट्राफिक जामलाई ध्यानमा राखी फ्लाइओभर लगायत आवश्यक संरचना निर्माण गरिने छ । पेट्रोलियम वाहनलाई विद्युतीय वाहनबाट प्रतिस्थापन गरिने छ ।’