निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गर्यो

पौष १२,२०७९

-आस्था न्युज

१२ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ। राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आयोगले आन्तरिक तयारी सुरु गरेको हो ।निर्वाचन आयोगले  निर्वाचनको मिति तय गरी  नेपाल सरकारलाई बुझाउनु पर्ने व्यवस्था रहेको  छ।

 

वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने भएकाले आयोगले माघ २८ गतेभित्र निर्वाचन गराउने तयारी गरेको हो।

 

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनुभन्दा कम्तीमा एक महिना अघि निर्वाचन हुनेगरी निर्वाचनको मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरू भएको बताएका छन् ।

 

 

संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक–फरक मितिमा निर्वाचन हुनेछ। नेपालको संविधानको धारा ६३ मा राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल निर्वाचित भएको मितिले पाँच वर्ष तोकिएको छ।

 

 

राष्ट्रपति र उपराष्ट्रपतिको  निर्वाचनमा सङ्घीय संसद् (३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुनेछन्। मुलुकको विद्यमान जनसङ्ख्या अनुसार यी पदको निर्वाचनका लागि सङ्घीय संसद्काप्रति सदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुने व्यवस्था रहेको छ।