Trending :
 

बसको ठक्करले महिलाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त

फाल्गुण ०१,२०७९

-आस्था न्यूज

१ फागुन, सुर्खेत । बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि वीरेन्द्रनगरमा मृतकका आफन्तहरु आन्दोलनमा उत्रिएका छन् l                                                                     

चालकलाई कारबाही र उचित क्षतिपूर्ति माग गर्दै आन्दोलनमा उत्रिएका उनका आफन्तहरुले वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।

वीरेन्द्रनगरका मुख्य चोकहरू मंगलगढी चोक, एयरपोर्ट चोक , बसपार्क र अन्य मुख्य चोकहरुमा मा टायर बालेर आन्दोलनकारीले सडक अवरुद्ध गरेका छन्

प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू यतिखेर आन्दोलनका कारण ठप्प भएका छन् । छिटपुट मोटरसाइकल र यम्बुलेन्स बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् ।

 

 

 आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको

बसको ठकरबाट मृत्यु भएको थियो ।

बा ४ ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो । रावत हाल वीरेन्द्रनगर-१० को बामेखोलामा बस्दै आएकी थिइन ।

 

तर  त्यहाको प्रहरीले मृतकको पहिचान नगरीकन नै प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई केहि बेर मै  मृत घोषणा गरिदियो ।

 

प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीका  अनुसार  बुलबुले चोकबाट बसपार्क आउँदै गरेको बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको थियो l

 

उक्त घटनालाई लिएर आफन्तहरूले आइतबार राति १० बजेसम्म बसपार्क, मंगलगढी चोक लगायत बिरेन्द्रनगरका विभिन्न ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए ।

 

उनीहरु सोमबार बिहानैदेखि पुनः आन्दोलनमा उत्रिएका  छन् । आफन्तलाई नसोधिकन शव उठाइएको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।

 

वीरेन्द्रनगरका विभिन्न ठाउँठाउँमा आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । साथै, यातायात व्यवसायमा संलग्नहरू ब्यवासायीहरु आन्दोलनकारी माथि जाइलागेका छन् ।

 

झडपका क्रममा पत्रकारसहित केही व्यक्तिहरु पनि  घाइते भएका छन् ।

 

डिएसपी शाहीका अनुसार बस चालक घटना लगतै फरार रहेका छन् भने बसलाई नियन्त्रणमा लिइएको छ । फरार बस चालकको खोजी कार्य भइरहेको उनले बताए ।