बीमा कम्पनीले एकै पटक अभिकर्ताहरुको विवरण अपलोड गर्न खोज्दा सर्भर नै डाउन
-आस्था न्यूज
फागुन १५, २०७९ काठमाडौं ।
सम्पुर्ण बीमा कम्पनीले एकै पटक अभिकर्ताहरुको विवरण अपलोड गर्न खोज्दा सर्भर नै डाउन भएको छ । बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताको नागरिकता, एसएलसी वा सो भन्दा माथिको लब्धाङ्कपत्र तथा चारित्रिक प्रमाणपत्र, पासपोर्ट साइजको फोटो र स्थायी लेखा नम्बर (प्यान) कार्ड इन्ट्री गरिरहेका छन् ।
प्राधिकरणले कम्पनीहरुलाई आजसम्म विवरण अध्यावधिक गर्न निर्देशन दिएको छ । अभिकर्ताको विवरण आइआरएमआइएस प्रणालीमा इन्ट्री गर्न बीमा कम्पनीका सम्पुर्ण शाखा कार्यालयलाई एक्सेस दिइएको छ । आज अन्तिम दिन सबै शाखाले प्रणाली प्रयोग गर्दा लोड धान्न नसकेर सर्भर डाउन भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार हालसम्म बीमा कम्पनीहरुले एक लाख ३ हजार जनाको विवरण अध्यावधिक गरिसकेका छन् । अजै धेरै अभिकर्ताहरुको विवरण अध्यावधिक गर्न बाँकी रहेकोले एक साताको समय थप्ने विषयमा छलफल भइरहेको जनाइएको छ । तर निर्णय भने भइसकेको छैन ।
आगामी चैतमा बीमा अभिकर्ताले लाइसेन्स नविकरण गर्नु पर्ने व्यवस्था रहेको छ । बीमा ऐन २०७९ मा एउटा अभिकर्ता एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था गरेका कारण प्राधिकरणले यहि व्यवस्था कार्यान्वयनका लागि अनलाइन प्रणालीको विकास गरेको छ । यसैका लागि पहिलो चरणमा बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताको विवरण प्रणालीमा इन्ट्रि गर्न निर्देशन दिएको हो ।
जसमा प्यान कार्ड सहित अन्य विवरणहरु पनि पेश गर्न भनिएको छ । अभिकर्ताको प्यान नम्बरका आधारमा एक भन्दा बढी बीमा कम्पनीमा लाइसेन्स लिए नलिएको पत्ता लगाइनेछ । यदि कुनै अभिकर्ताले दोहोरो लाइसेन्स लिएको पाइयो भने आगामी चैत महिनामा नविकरण गर्ने क्रममा एउटा मात्रै कम्पनीको नविकरण हुनेछ । अव प्रणालीले नै दोहोरो अभिकर्ताको व्यवस्थालाई नियन्त्रण गर्नेछ ।
अव नविकरण हुने अभिकर्ता लाइसेन्सको अवधि तीन वर्षको हुनेछ ।