Trending :
 

नयाँ गठबन्धन बनेसँगै मन्त्री बन्न दौडधुप सुरु

फाल्गुण १६,२०७९

-आस्था न्यूज

फागुन १६, २०७९काठमाडौं ।
पुस १० मा बनेको सत्ता गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारमा मन्त्री बन्न गठबन्धन दलका नेताहरु दौडधुपमा लागेका छन् । यस्तो दौडमा कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दलका नेताहरु लागि परेका छन् । मन्त्रीका आकांक्षीहरु शीर्ष नेताहरुलाई भेटेर आफ्नो पक्षमा माहोल बनाउने प्रयासमा लागेका छन् ।
 
नेकपा एमालेले सोमबार सरकार छाडेसँगै १६ वटा मन्त्रालय मन्त्रिविहीन बनेका छन् । एमालेअघि राप्रपा र रास्वपाले पनि सरकार छोडिसकेका छन् । आफु नेतृत्वको सरकार गठन हुँदा समर्थन गरेका दलहरुले सरकार छोडेपछि प्रधानमन्त्री प्रचण्डले नयाँ दलहरुलाई समेटेर मन्त्रिमण्डललाई पूर्णता दिने र विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि आठ दलीय गठबन्धनका शीर्ष नेताहरुमा सामान्य छलफल भएपनि ठोस छलफल अघि बढिसकेको छैन । 
 
मन्त्रिमण्डल विस्तार र विश्वासको मत लिने काम राष्ट्रपति निर्वाचन अघि गर्ने कि पछि गर्ने ? भन्नेमा सत्ता साझेदार दलहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्ने तयारी गरेका छन् । एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले आठ दलीय गठबन्धन बन्दा पावर शेयरिङबारे खासै छलफल नभएको बताए। 
 
त्यस्तै माओवादी केन्द्रका नेता शक्ति बस्नेतले पनि गठबनधनका कुन कुन दल सरकारमा सहभागी हुने र ककसले कुन मन्त्रालय पाउने भन्ने छलफल सुरु नै नभएको बताए ।
 
तर आठ दलीय गठबन्धनमध्येको नेकपा एकीकृत समाजवादीले सरकारमा जाने निर्णय गरिसकेको छ । त्यसका लागि  अर्थसहित भौतिक योजना मन्त्रालय दावी गर्ने तयारी गरेको जनाइएको छ ।