Trending :
 

यू-१९ क्रिकेट विश्वकपको एसिया छनोटमा नेपालको लगातार चौथो जित

फाल्गुण १६,२०७९

-आस्था न्यूज

फागुन १६, २०७९ काठमाडौं ।
 
यू-१९ क्रिकेट विश्वकपको एसिया छनोटमा नेपालले मलेसियामाथि १० विकेटको सानदार जित हासिल गरेको छ । खेलमा ओपनरद्वय दीपक बोहरा र अर्जुन कुमालले पहिलो विकेटका लागि ७३ रनको अविजित साझेदारी गरे । युनाइटेड अरब इमिरेट्स (यूएई)मा जारी प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो ।
 
मंगलबार टस हारेपछि फिल्डिङमा उत्रिएको नेपालका लागि दीपेश कँडेलले चार विकेट लिँदा मलेसिया ७२ रनमै समेटिएको थियो । ७३ रनको झिनो लक्ष्य नेपालले नौ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो ।
 
नेपालको जितमा दीपक २९ बलमा आठ चौकासहित ३८ रनमा अविजित रहे । अर्का ओपनर अर्जुन २५ बलमा तीन चौकासहित २१ रनमा अविजित रहे ।
 
त्यसअघि, मलेसियाका मुहम्मद अक्रम एबीडी मलेकले २६ र ओपनर मोहम्मद हैरिल हरिसनले १२ रन बनाएका थिए । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
 
१० ओभर बलिङ गरेका दीपेशले चार मेडन राख्दै ११ रन खर्चिएर चार विकेट लिएका थिए । आफ्नो स्पेलको कुल ६० मध्ये उनले ५३ ‘डट’ बल फ्याँकेका थिए । नेपालका लागि मिलन बोहराले दुई विकेट लिए । सुवास भण्डारी र आकाश चन्दले समान एक विकेट झारे ।
 
नेपालले प्रतियोगिताको पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो । दोस्रो खेलमा कुवेतलाई २४३ र नेपालले तेस्रो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको थियो ।
 
चार खेलबाट आठ अंक जोडेको नेपाल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तीन खेलबाट ६ अंक जोडेको यूएई दोस्रो स्थानमा छ ।
 
तेस्रो स्थानमा रहेको मलेसियाको चार खेलबाट दुई अंक छ । चौथो स्थानको सिंगापुरको पनि दुई अंक नै छ । पाँचौँ स्थानको हङकङको दुई र पुछारको कुवेत अंकविहीन छ । 
 
छनोटमा नेपालसँगै, घरेलु टिम यूएई, हङकङ, मलेसिया, सिंगापुर र कुवेत सहभागी छन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टिम सन् २०२४ मा श्रीलंकामा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।