प्रदेश १ को नाम कोसी राख्न जुट्यो सहमति
-आस्था न्यूज
फागुन १७, २०७८ काठमाडौं ।
नेकपा एमालेले प्रदेश १ को नाम कोसी राख्न प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेको छ ।
बुधबार एमाले प्रदेशसभा सदस्य रामबहादुर मगरले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावको प्रस्तावकमा भूमिप्रसाद राजवंशी, निरन राईलगायत रहेका छन् ।
प्रदेशसभा सचिवालयले प्रदेशको नाम प्रस्ताव गर्न बुधबार दिउँसो १ बजेसम्मको समय दिएको छ । नेकपा माओवादी केन्द्रले कोसी प्रदेशको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । पहिचानसहितको छुट्टै नाम प्रस्ताव गर्ने तयारी गरेपनि दलको बैठकबाट कोसीको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
नेपाली काङ्ग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम कोसी राख्ने सहमति गरेका थिए । एमालेले कोसी नामले सबैको पहिचान समेट्ने दाबी गरेको छ ।
‘प्रदेशले आपनो नामकरण प्रदेशसभाबाट आफैले गर्नुपर्ने दायित्व पूरा गर्नका लागि यस प्रदेशमा विकसित भएका हिन्दु धर्म, बौद्ध धर्मको दर्शन, किरात सभ्यता, मिथिला सभ्यता, लिम्बुबान संस्कृती, विराट क्षेत्रको इतिहास, कोच संस्कार र संस्कृति समेतलाई समेट्ने गरी तथा कोशी नदी र यसका शाखा नदीहरू ऐतिहासिक, धार्मिक तथा जातजाति, भाषा, सभ्यता र संस्कृतिको विकास भएकोले यस क्षेत्रको मूल आधारको रुपमा हिमालदेखि पहाड र तराईको भूभागमा कोसी नदी प्रवाहको क्षेत्रभित्र सम्पूर्ण अवस्थाको वर्तमान र भावी विकास र समृद्धिसमेत जोडिएको हुनाले यस प्रदेशको नाम कोसी प्रदेश राख्र उपयुक्त ठानिएको छ’ एमाले सांसदले दर्ता गरेको प्रस्तावमा भनिएको छ ।