नेपाली चियाले पायो अन्तर्राष्ट्रिय स्वर्ण, रजत र सिल्भर अवार्ड
-आस्था न्यूज
फागुन १८, २०७९ काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड विजेता भएको छ ।
चीनको चीन चिया मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिष्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड विजेता भएको बिहीबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
बोर्डले नेपालमा उत्पादित १६ वटा चियाको नमूना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बताएको छ । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको बताउनुभयो ।
उहाँले बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनको लागि पहल गरिरहेको बताउनुभयो । उहाँले चीनमा नेपाली चियाको अनलाइन विज्ञापन शुरु भइसकेको बताउनुभयो । भट्टराईले अवार्ड विजेता भएसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको र आर्थिक उन्नतिको लागि महत्वपूर्ण मानिने उल्लेख गर्नुभयो ।
उहाँले गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको बताउनुभयो । उहाँले नेपाली चियाको निर्यात वृद्धिले नेपाली चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको बताउनुभयो ।
त्यस्तै, पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले रासायनिक मल तथा विषादी प्रयोग विना अग्र्यानिक रुपमा चिया उत्पादन गर्नुको प्रतिफल गोल्डेन अवार्ड भएको बताउनुभयो ।