Trending :
 

पुस २६ को बैठकमा ओलीले संसद विघटन ठीक भनेपछि विकल्प खोजेका हौंः दाहाल

फाल्गुण १८,२०७९

-आस्था न्यूज

फागुन १८, २०७९ काठमाडौं ।
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा संसद विघटन ठीक थियो भन्ने अभिमत जाहेर भएपछि आफूहरूले नयाँ विकल्प खोजेको बताएका छन्।
 
बिहीबार कांग्रेसका नेता रामचन्द्र पौडेललाई विजयी गराउन आठ दलका सांसदहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस २६ गतेको प्रतिनिधिसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यक्त विचारले आफूहरूलाई सोच्न बाध्य बनाएको बताएका हुन्।
 
दाहालले एमालेसँग लागेर केही समय बरालिए पनि कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धनमा आएर ठीक गरेको उल्लेख गरे।
 
सांसदहरूको भेलालाई सम्वोधन गर्दै प्रधानमन्त्रीले भने, ‘अघिल्लोपटक संविधानविपरित संसद विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौँ। संसद पुनस्र्थापना गर्न सडकसम्म गयौँ। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ। गठबन्धन सुदृढ बनाएर अघि बढ्छौँ।’
 
उनले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने दलको संख्या बढ्ने बताए। ‘रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ। गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ। स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ, दाहालले भने।
 
प्रधानमन्त्री दाहालले नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा भएको टिप्पणी गरे। २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मलाई अभूतपूर्व मत प्राप्त भएको भन्दै उनले खुसी व्यक्त गरे।
 
प्रचण्डले भने, ‘त्यो आफैँमा राष्ट्रिय सहमतिको आधार थियो। बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ। तपाई र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ। तर, उहाँले मान्नुभएन। त्यसपछि हामी अधिकतम सहमतिका साथ आजको परिस्थितिमा छौँ।’
 
उनले आफ्ना लागि पद ठूलो कुरा नभएको उल्लेख गर्दै ओलीले पुस २६ गते संसदमा बोलेको कुराले सोच्न बाध्य भएको बताए।
 
‘मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो। हामी संसद विघटनको विपक्षमा थियौँ, दाहालले अगाडि भने,
 
‘हामी आफैले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ। संविधान र लोकतन्त्रविरूद्ध हामी जाने कुरा भएन। हामीले सोच्न बाध्य भयौँ। त्यस्तो नयाँ परिस्थिति बन्यो। आज फेरि संविधान र लोकतन्त्रको रक्षाका निम्ति हामी एकठाउँ उभिएका छौँ।’