राष्ट्रपति निर्वाचनसँगै रिक्त रहेका २ स्थानमा एकैसाथ उपनिर्वाचन गरिने
-आस्था न्यूज
फागुन १९, २०७९ काठमाडौं ।
राष्ट्रपति निर्वाचनसँगै प्रतिनिधिसभा सदस्यतर्फ रिक्त हुने क्षेत्रको उपनिर्वाचन पनि चितवन २ सँगै एकसाथ गरिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार चितवन २ का साथै अब रिक्त हुन सक्ने क्षेत्रको उपनिर्वाचन एकसाथै हुनेछ ।
चितवन २ मा १० वैशाखमा उपनिर्वाचन हुनेछ । त्यसबाहेक २५ फागुनमा तय भएको राष्ट्रपति निर्वाचनमा उम्मेदवार रहेकामध्ये निर्वाचित हुनेको क्षेत्रमा उपनिर्वाचन हुनेछ । राष्ट्रपति निर्वाचनमा तनहुँ १ बाट रामचन्द्र पौडेल र इलाम २ बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । यी दुईमध्ये निर्वाचित हुनेबाट एक पद रिक्त हुनेछ । त्यस क्षेत्रमा संसदीय उपनिर्वाचन हुनेछ ।
यसैगरी, ३ चैतमा तय भएको उपराष्ट्रपति निर्वाचनमा सांसद उम्मेदवार भएर रिक्त रहेमा उक्त निर्वाचन क्षेत्रमा पनि उपनिर्वाचन हुने थपलियाले बताए । ‘रिक्त रहेका क्षेत्रमा एकसाथ उपनिर्वाचन हुनेछ, यसले खर्च पनि घटाउँछ,’ थपलियाले भने, ‘रिक्त भएको चितवन २ र रिक्त भएमा अरू क्षेत्रमा पनि १० वैशाखमा उपनिर्वाचन सक्ने गरी काम हुनेछ ।’