आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्यूगिनीलाई ३ विकेटले हराउदै नेपाल विजयी
-आस्था न्यूज
फागुन १९, २०७९ काठमाडौ ।
आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपालले पपुवा न्यूगिनीलाई ३ विकेटले हराएको छ । पपुवा न्यूगिनीले दिएको १८० रनको लक्ष्य नेपालले अन्तिम २ ओभर बाँकी छँदा ७ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आसिफ सेखले सर्वाधिक ८६ रन बनाए । त्यस्तै सन्दीप लामिछानेले ३५ रन बनाए ।
आसिफले १३० बलमा २ चौका र १ छक्कासहित ८६ रन बनाएका हुन् । त्यस्तै ५० बल खेलेका सन्दीपले ३ चौकासहित ३५ रन बनाएका हुन् । नेपाललाई १०५र७ को अवस्थाबाट जित दिलाउन आसिफ शेख र सन्दीप लामिछानेको साझेदारी महत्त्वपूर्ण रह्यो । आसिफ र सन्दीपले ८औं विकेटका लागि ७७ रनको साझेदारी गरे । एकदिवसीय अन्तर्राष्ट्रियमा ८औं विकेटका लागि यो अहिलेसम्मकै उच्च साझेदारीसमेत हो ।
नेपालले सुरुमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । भुर्तेल खेलको दोस्रो इनिङ्सको पहिलो बलमै रोयल डक भएका थिए । कुशल मल्लले भने २३ रन बनाए । नेपालका लागि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पपुवा न्यु गिनीका लागि असद भालाले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सेमो कामिया र सेसे बाउले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्यु गिनी ४९।२ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो । ओपनर टोनी उराले पपुवा न्यु गिनीबाट सर्वाधिक ३९ रन बनाए । उनले ५१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर किप्लन डोरिगाले २६ रन बनाए । सेसे बाउ र कप्तान असाद भाला समान ११ रनमा आउट भए ।
हिरी हिरीले ३१ रन बनाए । उनले ६३ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे । गौडी टिका १५, चाड सोपर र रिलेय हेकुरे समान ९ रनमा आउट भए । नोर्मन भानुआ १४ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले २–२ विकेट लिए । दीपेन्द्रले १० ओभरमा १ मेडन राख्दै ३० र सोमपालले १० ओभरमा ३९ रन खर्चे । करण केसी, कुशल मल्ल र सन्दीप लामिछानेले १–१ विकेट लिए ।
लिग–२ मा नेपालले पपुवा न्यु गिनीविरुद्ध यसअघि भएका तीन खेल नै जितेको थियो । तीनै खेल दुबईमा भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय जोगाउन नेपालले आफ्नो बाँकी रहेको ५ मध्येको ३ खेल जित्नु पर्नेछ । नेपाल ३१ खेलमा ३० अंकसहित सात राष्ट्र सहभागी प्रतियोगितामा छैटौं स्थानमा छ ।
लिग–२ को शीर्ष तीन टोली जुलाई जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै पुग्ने छन् भने शीर्ष ५ राष्ट्रले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने छन् । अमेरिका ३६ खेलमा ३५ अंकसहित चौथो र यूएई ३० खेलमा ३१ अंक जोडी पाँचौं स्थानमा छ । पपुवा न्यु गिनी ३१ खेलमा ७ अंकसहित पुछारमा छ ।