यसरी जोगाउन सकिन्छ मिर्गौलाः डा पुकारचन्द्र श्रेष्ठका पाँच सुझाव

फाल्गुण २०,२०७९

-आस्था न्यूज

फागुन २०, २०७९ काठमाडौ । 
मिर्गौलाको खराबी नेपालीको आम रोग बनिसकेको छ । ९० प्रतिशभन्दा बढी मिर्गौला खराब भएपछि मात्रै लक्षण देखापर्ने भएकाले यसलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । 
 
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठका अनुसार ९० प्रतिशतभन्दा बढी मिर्गौला खराब भएको अवस्थामा डायलाइसिस वा प्रत्यारोपणबाहेक अन्य विकल्प रहँदैन । त्यसैले मिर्गौला खराब हुन नदिन निम्न उपायहरु अपनाउन डा श्रेष्ठको सुझाव छ ।
 
वर्षको एकपटक कुनै लक्षण नदेखिए पनि मिर्गौला जाँच गर्नुपर्दछ । पिसाबमा प्रोटिनको अवस्था र रगतमा क्रियाटिनको मात्रा र भिडियो एक्सरेमा मिर्गौलाको आकार आदीबाट पनि मिर्गौला खराब भए नभएको थाहा पाउन सकिन्छ ।
 
आधुनिक जीवनशैली र खानपिनका कारण उच्च रक्तचाप, मधुुमेहजस्ता रोग बढिरहेको छ, जुन मिर्गौला खराब गराउने ८० प्रतिशत कारण हो । यी दुई रोग लाग्नै नदिने र लागिहाले पनि नियन्त्रणमा राख्नुपर्दछ ।
 
स्वस्थ जीवन र मिर्गौलासम्बन्धी रोगहरुबाट बच्न नियमित व्यायाम गर्ने र तौल नियन्त्रणमा राख्ने गर्नुपर्छ ।
 
पेन किलर तथा एन्टिबायोटिक औषधि जथाभावी प्रयोग गर्नु हुँदैन, एन्टिबायोटिकले मिर्गौलाका लागि विषको काम गर्दछ ।
 
धुम्रपान मद्यपानबाट टाढै रहने, पानी पर्याप्त पिउने गर्नुपर्छ । साथै, मिर्गौलासम्बन्धी समस्याबाट बच्न आधुनिक जीवनशैली र खानपानलाई परिवर्तन गर्नु आवश्यक देखिन्छ ।