Trending :
 

राष्ट्रपति चयनका लागि भोलि मतदान हुँदै, चार घण्टाभित्र नतिजा सार्वजनिक गर्ने तयारी

फाल्गुण २४,२०७९

-आस्था न्यूज

फागुन २४, २०७९ काठमाडौं । 
नयाँ राष्ट्रपति चयनका लागि बिहीबार )भोलि) मतदान हुँदैछ । 
 
काठमाडौंको नयाँवानेश्वरस्थित संसद् भवनको ल्होत्सेहल परिसरमा मतदान हुनेछ । मतदानका लागि दुईवटा केन्द्र तोकिएको छ । 
 
एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खसाल्ने छन् । राष्ट्रपति निर्वाचनमा प्रदेशका ५५० र संघीय संसद्का ३३२ गरी कुल ८८२ जना मतदाता रहेका छन् । 
 
मतदाताको अन्तिम नामावलीमा नाम रहेको जनता समाजवादी पार्टीकी सांसद सहनाज रहमानको हृदयघातका कारण मृत्यु भएको छ । राष्ट्रपति निर्वाचनमा प्रदेश सांसदको ४८ र संघीय सांसदको ७९ मतभार गणना हुन्छ ।
 
राष्ट्रपतिको निर्वाचनअन्तर्गत भोलि बिहान १० बजेदेखि तीन बजेसम्म मतदानको समय तोकिएको छ । भोलि बेलुका सात बजेसम्म निर्वाचनको नतिजा सार्वजनिक गर्ने तयारी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 
 
निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको उनले बताए । “तीन बजेसम्म मतदानको समय तोकिएको छ । मतदान सकिएलगत्तै सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुन्छ, उनले भने, “सात बजेभित्र नतिजा आइसक्छ ।” 
 
राष्ट्रपति निर्वाचनमा दुई उमेदवारबीच प्रतिस्पर्धा हुँदै छ । आठदलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङ उमेदवार रहेका छन् । आयोगले प्रदेश सांसद र संघीय सांसदका लागि छुट्टा छुट्टै मतपत्रको व्यवस्था गरेको छ । मतपत्रमा उमेदवारको नाम र फोटो राखिएको छ ।